मुकेश कुमार साह, रौतहट १२ माघ – संकल्प बचत तथा ऋण सहकारी संस्था (साकोस) ले चन्द्रपुर–३, गैडाटारमा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा उपसमिति संयोजक शारदा भण्डारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य उत्तम काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य संचालक बिदुर न्यौपानेले व्यक्त गरेका थिए।
संस्थाका निवर्तमान अध्यक्ष बिभु पोखरेलले संस्थाका गतिविधि, वित्तीय अवस्था, संस्थामा आबद्ध हुनुका कारण, बचतको महत्त्व, ऋण लगानी प्रक्रिया, ब्याजदर तथा सदस्य बन्न आवश्यक योग्यता र प्रक्रियाबारे जानकारी गराएका थिए। उनले सहकारीमार्फत सामूहिक बचत र लगानीले व्यक्तिहरूको आर्थिक सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले सहकारी शिक्षा र अन्तरक्रिया कार्यक्रमले सहकारीप्रति अझ नजिक हुन मद्दत पुगेको बताएका थिए। कार्यक्रममा सहभागी एक सदस्यले भनिन्, “यस कार्यक्रमले बचत र ऋण प्रक्रियाको विषयमा हाम्रो बुझाइ थप प्रस्ट बनाएको छ। अब हामी सजिलै सहकारीसँग आबद्ध हुन सक्छौं।”
अर्का सहभागीले सहकारीको पारदर्शिता र सदस्यहरूबीचको सहकार्य अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमले ठूलो योगदान पुर्याउने बताए।
कार्यक्रममा संचालक बिदुर न्यौपाने, शिक्षा उपसमिति सदस्यहरू उमेश गौतम, उत्तम काफ्ले, लक्ष्मी थपलिया, रमेश तिमल्सिना, गोपाल राउत, ऋण अधिकृत युवराज पौडेल, कार्यालय सहायक निरन्जन दाहाल, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लगायत विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा ७५ भन्दा बढी सहभागीहरूले सहभागिता जनाएका थिए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।