Tuesday, January 21, 2025

रौतहट साकोस संघद्वारा सहकारी अध्यादेश र मस्यौदामाथि अन्तरक्रिया सम्पन्न

पछिल्लाे समाचार

मुकेश कुमार साह, चन्द्रपुर ६ माघ । रौतहट बचत तथा ऋण सहकारी संघले सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी सहकारी मस्यौदाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरू, संघका प्रतिनिधिहरू, र सहकारीप्रेमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । होटल आरोहीमा भएको कार्यक्रमको प्रारम्भमा बिशिष्ट अतिथि रौतहट दुग्ध सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । संघका उपाध्यक्ष राम बिश्वास पासवानले स्वागत मन्तव्य राख्दै सहकारी क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रम सञ्चालन संघका महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रमका दौरान सहकारी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरूबारे उपस्थित व्यक्तित्वहरूले आ–आफ्ना धारणा राखेका थिए । संघका पूर्व सल्लाहकार तथा संकल्प साकोसका अध्यक्ष गणेश पौडेलले सरकारले जारी गरेको अध्यादेशले सहकारीहरूलाई व्यवस्थित गर्न सहयोग पुर्‍याउने भए पनि केही प्रावधानले सहकारी क्षेत्रको व्यावहारिक पक्षलाई असर पुर्‍याउने भएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।
नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु तिवारीले अध्यादेशका केही प्रावधान सहकारीहरूको हित विपरीत रहेको भन्दै यसलाई सच्याउनका लागि संघले आवश्यक पहल गर्नुपर्ने र सुधार नभए आन्दोलनको बाटो रोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीहरूको दीर्घकालीन अस्तित्वका लागि एकताबद्ध रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
त्यसैगरी, वृन्दावासिनी साकोसका संचालक आलोक कोइरालाले सहकारी क्षेत्रलाई थप पारदर्शी र व्यवस्थित बनाउन सरकारद्वारा जारी अध्यादेश सकारात्मक रहेको बताउँदै, सहकारीहरूले नियमअनुसार आफ्नो कार्यशैलीलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो।
संघका लेखा समिति संयोजक जितेन्द्र चौधरीले राष्ट्र बैंकको मस्यौदाले वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, साना सहकारीहरूका लागि यसले केही चुनौती खडा गर्न सक्ने भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्लाभरका सहकारी संघका अध्यक्ष, व्यवस्थापक, र प्रतिनिधिहरू गरी ५० भन्दा बढी व्यक्तिहरूको सहभागिता थियो। उपस्थित सहभागीहरूले सहकारी क्षेत्रको समग्र सुधार र पारदर्शिताका लागि यस्ता अन्तरक्रिया कार्यक्रमको आवश्यकता रहेको औंल्याए।
संघका अध्यक्ष बिभु पोखरेलले कार्यक्रमको समापन गर्दै सहकारी क्षेत्रमा आएका समस्याको समाधानका लागि संघ निरन्तर सक्रिय रहने बताउनुभयो। उहाँले सहभागीहरूको धारणा र सुझावलाई भविष्यका रणनीतिहरूमा समेटिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उपस्थित सबैले सहकारीहरूको दिगो भविष्य सुनिश्चित गर्न सहकार्य र संवादको आवश्यकता रहेकोमा एकमत भएका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु