रौतहट २४, पुस । रौतहटको गौर नगरपालिका वडा नं. २ मा रहेको बानेश्वर मन्दिरको पुरातात्त्विक उत्खननले महत्वपूर्ण ऐतिहासिक प्रमाण उजागर गरेको छ। गौर नगरपालिकाको समन्वय र पुरातत्त्व विभागको सहकार्यमा दुई हप्तादेखि जारी उत्खननका क्रममा मन्दिर परिसरमा गहिरो ईनारसहित अन्य थुप्रै ऐतिहासिक संरचना फेला परेका छन्।
पुरातत्त्वविद् देवेन्द्रनाथ तिवारीको नेतृत्वमा गरिएको अध्ययनले चौबीस इन्च चौडा गारो भएको घरको संरचना तथा सिम्रौनगढ साम्राज्यकालमा प्रयोग गरिएका विशेष प्रकारका इँटा फेला पारेको छ। यी इँटा २८ सेन्टिमिटर लम्बाइ, २० सेन्टिमिटर चौडाइ, र ६ सेन्टिमिटर बाक्लाइका छन्। विशेषगरी, यी इँटामा मानिसको औँलाको छाप फेला परेको छ, जुन नेपालमै पहिलो पटक पाइएको पुरातात्त्विक तथ्य हो।
तिवारीका अनुसार, “इँटामा औँलाको छाप हुनु यस क्षेत्रको ऐतिहासिक महत्वलाई थप उजागर गर्ने प्रमाण हो।”
उत्खननले माटोका खेलौनाहरू, घरका खपडाहरू, पिङ, र दुईवटा ईनार पनि फेला पारेको छ। स्थानीय पूजारीहरूले मन्दिरको दक्षिणतर्फ बेलपत्रको रुखमुनि फेला परेको नयाँ ईनार र मन्दिरको आसपासमा देखिने सर्पहरूको उपस्थिति ऐतिहासिक महत्वसँग जोडिएको बताएका छन्।
स्थानीयवासी र इतिहासविद्हरूको भनाइमा यो क्षेत्र राजा सेवई सिंहको पालामा निर्माण गरिएको हो। मन्दिर परिसरमा रहेका सातवटा ईनारमध्ये एक अहिले पनि सञ्चालनमा रहेको छ भने अर्को हालै उत्खननबाट फेला परेको हो।
गौर नगरपालिकाका प्रमुख शम्भु साहले पुरातात्त्विक अध्ययनका लागि विगत दुई वर्षदेखि निरन्तर प्रयास गरिरहेको बताए। उनले भने, “नगरपालिकाको लगानी र पुरातत्त्व विभागको सहकार्यले यस क्षेत्रको ऐतिहासिक महत्त्व उजागर गर्न मद्दत पुगेको छ।”
यो उत्खननले गौर क्षेत्रको ऐतिहासिक सम्पदालाई उजागर गर्नुका साथै अध्ययन र पर्यटनको नयाँ संभावना पनि देखाएको छ। स्थानीय बुद्धिजीवीहरूले यस प्रकारका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।