चितवन, माघ ५ – पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आईटी आर्मी चितवन जिल्लाको तयारी भेला शनिबार सम्पन्न भएको छ। आईटी आर्मी संगठन विभाग प्रमुख आर्या पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पाण्डेले वर्तमान समयको चुनौती समाधानका लागि आईटी क्षेत्रको महत्व औंल्याउँदै वैदेशिक रोजगारीमा हुने ठगी रोक्न, भ्रष्टाचार अन्त्य गर्न र दलालीमुक्त देश निर्माण गर्न आईटी आर्मीको भूमिका अपरिहार्य रहेको बताए।
पाण्डेले भने, “आईटी बिना देशको विकास सम्भव छैन। वैदेशिक रोजगारीमा भइरहेका ठगी रोक्न र देशमा बढ्दो संकट रोक्न आईटी आर्मीका युवाहरुले सकारात्मक योगदान गर्नुपर्ने आवश्यकता छ।”
भेलाले माघ १२ गते आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा भव्य कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ।
कार्यक्रममा आईटी आर्मीका महा-सचिव अमर साह, स्थायी कमिटी सदस्य विजय यादव, रामशरण यादव, चितवन जिल्ला इन्चार्ज मीनबहादुर खत्री, जिल्ला अध्यक्ष तुमबहादुर थापा, जिल्ला सचिव श्याम पटेल, उपेन्द्र साह, नितेश साह, मुकेश चौधरीलगायतको विशेष उपस्थिति रहेको थियो।
भेलाले चितवन जिल्लामा आईटी आर्मीलाई थप सशक्त बनाउने निर्णय गर्दै युवाहरुलाई संगठनमा सक्रिय बनाउने योजनाहरू अघि सारेको छ।