Thursday, January 23, 2025

रौतहट बचत संघको वर्तमान नेतृत्वले गरे पहिलो वर्ष पूरा, प्रभावकारी कार्यहरूको समीक्षा

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट १० माघ । रौतहट बचत तथा ऋण सहकारी संघ लि. को २७औँ वार्षिक साधारणसभाबाट निर्वाचित वर्तमान नेतृत्वले आफ्नो कार्यकालको पहिलो वर्ष पूरा गरेको छ । सहकारी अभियानलाई निरन्तरता दिँदै संघले विभिन्न चुनौतीका बीच उल्लेखनीय योगदान गरेको छ । संघका अध्यक्ष विभु पोखरेलले सहकारी क्षेत्रमा देखिएको राष्ट्रियस्तरको रोष र अमैत्री व्यवहारका बाबजुद पनि संघले सहकारी अभियानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
संघले संस्थालाई चुस्त र पारदर्शी बनाउन सफ्टवेयर जडान गरिसकेको छ भने सहकारी कानुन र करसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेर संस्थाका सदस्यहरूको क्षमता अभिवृद्धि गरिएको छ। नेफ्स्कुनको प्राविधिक सहयोगमा ४ वर्षे व्यवसायिक रणनीतिक योजना तर्जुमा गरिनुका साथै विस्तारित मञ्चद्वारा आ.व. २०८०/८१ को अर्धवार्षिक समीक्षा गरिएको छ।
सचिव बसन्त आचार्यका अनुसार संघले २८ वटा प्रारम्भिक संस्थासँग घुम्ती बैठक सम्पन्न गर्दै सहकारी अभियानलाई स्थानीयस्तरमा सक्रिय बनाएको छ। नेफ्स्कुनका अध्यक्षको प्रमुख आतिथ्यतामा सहकारीका चुनौती र अवसरबारे गोष्ठी आयोजना गर्नुका साथै ऐच्छिक र आबधिक बचत योजना सुरु गर्दै भुक्तानी पर्चीको व्यवस्था गरिएको छ। संघले सहकारी र दिगोपनाका लागि वित्तीय विश्लेषण तालिम सञ्चालन गरेर सदस्यहरूको क्षमता अभिवृद्धि गर्न सफल भएको छ।
अध्यक्ष पोखरेलले १२ महिना १२ कार्यक्रमअन्तर्गत संघले विभिन्न क्रियाकलाप अघि बढाएको र संघको २८औँ वार्षिक साधारणसभा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जानकारी दिनुभयो। सहकारी सम्बन्धी अध्यादेश र राष्ट्र बैंकको प्रस्तावित मस्यौदामाथि बृहत अन्तरक्रिया गर्दै संकटमा रहेका सहकारीहरूलाई पुनर्जीवित गर्न संघले सरोकारवालासँग समन्वय गरेको छ।
रामेछाप र दोलखा बचत संघको अवलोकन भ्रमणमार्फत नयाँ अनुभव र ज्ञान प्राप्त भएको सचिव आचार्यले बताउनुभयो। संघले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ५० लाख रुपैयाँको कारोबार गर्दै १ करोड ३७ लाख ऋण लगानी गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको २ लाख ५१ हजार घाटाबाट माथि उठ्दै अहिले संघले लाभको स्थिति प्राप्त गरेको छ।
संघका अध्यक्ष पोखरेलले सहकारी अभियानलाई अझ सशक्त बनाउन शिक्षा, तालिम, गोष्ठी र अवलोकन भ्रमणलाई प्राथमिकता दिने योजना रहेको बताउनुभयो। सचिव आचार्यले सहकारीको प्रभावकारिता वृद्धि गर्न सबैको सहकार्य आवश्यक रहेको धारणा राख्दै संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, प्रारम्भिक संस्था, छाता संघ, सहकारी बैंक, स्थानीय राजनीतिक दल, चन्द्रपुर नगरपालिका, नागरिक समाज, पत्रकार र सहकारीप्रेमीहरूप्रति आभार व्यक्त गर्नुभयो। संघले आगामी दिनमा पनि सहकारी अभियानलाई थप प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु