मुकेश कुमार साह ,२०८१ पुस २१ । आईतबार चन्द्रपुर–४ मा एकीकृत बचत तथा ऋण सहकारी संस्था लि., श्री वीरदल गण पुरेनवा, तिलगंगा आँखा प्रतिष्ठान, र श्री नेपाल आँखा कार्यक्रमको संयुक्त आयोजनामा नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष माधवकुमार नेपाल रहनुभएको थियो ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शिविरको उद्घाटन गर्दै यस्ता स्वास्थ्य सेवा कार्यक्रमहरूले ग्रामीण क्षेत्रका नागरिकहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक अधिकार हो । यस्तो सहकार्यले जनताको स्वास्थ्य सुधार गर्न ठोस भूमिका खेल्छ।”
कार्यक्रमको अध्यक्षता एकीकृत साकोसका अध्यक्ष कृष्णबहादुर खड्काले गर्नुभएको थियो। स्वागत मन्तव्य संस्थाका सल्लाहकार सपूतबहादुर कार्कीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव नारायण न्यौपानेले गर्नुभएको थियो।
शिविरमा ४५९ जनाको आँखा जाँच गराइएको थियो। चिकित्सकहरूका अनुसार, तीमध्ये ३९ जनामा मोतियाबिन्दु पाइएको छ। वीरदल गणका सेनानी झनक थापाले ती बिरामीको शल्यक्रिया आगामी पुस २८ गते गरुडामा नि:शुल्क गरिने जानकारी दिनुभयो । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभुकुमार पोखरेलले सहकारीको सामाजिक उत्तरदायित्वलाई उल्लेख गर्दै भन्नुभयो, “सहकारी संस्थाहरूले समाजका हितमा लागि बिभिन्न कार्यहरु गर्दै आएका छन । यस्ता कार्यक्रमहरूले सहकारीमा जनताको विश्वास बढाउँछ।”
यसैगरी, नेफ्स्कून फिल्ड कार्यालय हरिवनका प्रतिनिधि देबबहादुर सापकोटा, राष्ट्रिय सहकारी बैंक चन्द्रपुर कार्यालय प्रमुख रुपा थापा, सफल साकोसका अध्यक्ष देवकी नेपाल, र अन्य सहकारीका पदाधिकारी तथा वीरदल गणका जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी स्थानीयहरूले शिविरप्रति आभार प्रकट गर्दै यस्तो सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्। एक स्थानीयले भने, “यस्तो सेवा हाम्रो लागि वरदान हो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउनका लागि यस्ता कार्यक्रमहरू अनिवार्य छन्।”
यस शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सेवा पुर्याउन र सामाजिक समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। आयोजक संस्थाहरूको सहकार्य र समर्पणले कार्यक्रमलाई अत्यन्त प्रभावकारी बनाएको थियो ।