मुकेश कुमार शाह, रौतहट २४ पुस । कठ्याङ्ग्रिदो जाडोले प्रभावित भईरहेका दलित परिवारलाई राहत दिने उद्देश्यले चन्द्रपुर नगरपालिका वडा नं. ९ पिपरियामा न्यानो कपडा वितरण गरिएको छ । कृष्ण प्रणामी युवा परिषदको आयोजनामा न्यानो कपडा वितरण गरिएको हो ।
परिषदका जिल्ला सदस्य सिताराम पौडेलका अनुसार, जाडोले प्रभावित दलित समुदायलाई सहयोग पुर्याउन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा करिब ६० जनालाई न्यानो कपडा वितरण गरिएको थियो। “यस पहलले जाडोमा समस्यामा परेका परिवारलाई केही मात्रामा राहत दिने विश्वास लिएका छौं,” पौडेलले बताउनुभयो ।
परिषदका जिल्ला कोषाध्यक्ष चक्र तिमल्सिनाले जाडोले बढी असर पर्ने परिवारलाई लक्षित गरी कपडा वितरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा परिषदका प्रदेश समिति सदस्य बिदुर न्यौपाने, बाइजुराज जिल्ला समिति सचिव सुशीला घिमिरे, पण्डित गोपाल ढोडारी लगायतको उपस्थिति रहेको थियो ।
स्थानीयवासीले परिषदको यस सामाजिक कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन् ।