मुकेश कुमार साह,रौतहट ०७ माघ । गुजरा नगर युवा क्लब (GYC) का अध्यक्ष अब्दुल सलामको नेतृत्वमा सिमान्तकृत समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। क्लबका सदस्यहरूले व्यक्तिगत स्रोतबाट GYC सामाजिक कार्य कोषमा रकम संकलन गरी यस अभियानलाई सफल बनाएका हुन्।
क्लबले संकलित कोषलाई शिक्षा, स्वास्थ्य र मानवकल्याणका लागि उपयोग गर्दै आएको छ। यस अन्तर्गत बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने, सामाजिक अभियन्ताहरूलाई प्रोत्साहन गर्ने, र सिमान्तकृत वर्गका लागि कपडा तथा अन्य सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिइँदै आएको छ।
हालसम्म धेरै बालबालिकालाई न्यानो कपडा वितरण गरिए पनि अझै ३७ जना बालबालिकालाई न्यानो कपडा उपलब्ध गराउन बाँकी रहेको अध्यक्ष अब्दुल सलामले जानकारी दिनुभयो। उहाँले यस अभियानलाई सफल बनाउन सहयोगी मनहरूसँग हातेमालोको अपिल गर्दै भन्नुभयो, “सामाजिक सेवामा सबैको सहकार्य आवश्यक छ। तपाईँहरूको सानो सहयोगले सिमान्तकृत बालबालिकाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।”
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै, गुजरा नगर युवा क्लबले सहयोगका लागि सबै हितकारी मनहरूलाई अपिल गरेको छ । सहयोग गर्न चाहने मनहरुले 9824263195 मा सम्पर्क गर्न सक्नेछन ।