Tuesday, January 21, 2025

डिभिजन वन कार्यालयद्वारा आयोजना गरिएको योजना तर्जुमा गोष्ठी सम्पन्न

पछिल्लाे समाचार


मुकेश कुमार साह, रौतहट ६ माघ । डिभिजन वन कार्यालय रौतहटको आयोजनामा सामुदायिक वनहरूको दीर्घकालीन व्यवस्थापन र आगामी कार्ययोजना निर्माणका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। सामुदायिक वनका प्रतिनिधिहरू, व्यवस्थापक, र सरोकारवालाहरूको उपस्थितिमा गोष्ठीमा वन संरक्षण, वन स्रोतको दिगो उपयोग, र वातावरणीय सन्तुलन कायम गर्न आवश्यक योजनाहरूमा विस्तृत छलफल गर्दै सम्पन्न भएको हो ।
गोष्ठीको उद्घाटनमा डिभिजन वन कार्यालयका प्रमुखले वन संरक्षण र समुदायको सहभागितामा आधारित स्रोत व्यवस्थापनको महत्त्वबारे प्रकाश पारे। सहभागीहरूले सामुदायिक वनहरूको संरक्षणमा देखिएका चुनौतीहरू समाधान गर्न, हरित क्षेत्र विस्तार गर्न, र वन उपभोक्ताको भूमिकालाई सशक्त बनाउन विभिन्न सुझाव प्रस्तुत गरे। कार्यक्रममा सामुदायिक वनहरूको वार्षिक योजना निर्माण र कार्यान्वयनका लागि प्राथमिकता तय गरिएको थियो।
गोष्ठीका क्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष वेदहरि दाहालले डिभिजन वन कार्यालयले ढिलासुस्ती गर्ने गरेको आरोप लगाए। उनले कार्यालयले समयमै गुनासा सम्बोधन नगरेको र चिरानको लागि काठ लान आवश्यक पुर्जी नबनाइएको भन्दै सुधारको माग गरे । यस्तै, अन्य सामुदायिक वनका प्रतिनिधिहरूले वन व्यवस्थापनमा थप पारदर्शिता र प्रभावकारिता ल्याउनुपर्ने खाँचो रहेको औंल्याए।
गोष्ठीमा उठेका गुनासाहरूको जवाफ दिँदै डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले आफ्नो कार्यकालमा त्यस्तो ढिलासुस्ती नभएको र आफ्नो कक्षमा यस्ता गुनासा कहिल्यै नआएको स्पष्ट पारे। उनले गुनासा प्रति कडा रूपमा प्रस्तुत हुँदै सामुदायिक वनका प्रतिनिधिहरूले आफ्नो जिम्मेवारी पूरा नगरेकोतर्फ पनि ध्यानाकर्षण गराए।
उनले भने, “समुदायका केही वन उपभोक्ता समितिहरूले समयमै साधारण सभा नगर्दा समस्या उत्पन्न भएको छ। आफ्नो कमजोरी छोप्न कार्यालयमाथि दोष थुपार्नु न्यायोचित हुँदैन।” साथै, उनले कार्यालयका कुनै पनि कर्मचारीले यदि गल्ती गरे वा काममा लापरबाही देखाए भने त्यसको तत्काल जानकारी दिन आग्रह गरे। यस्ता गल्तीहरूमा कुनै पनि प्रकारको सम्झौता नगर्ने र दोषी कर्मचारीमाथि तत्काल कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
डिभिजन वन प्रमुखले वन संरक्षण र व्यवस्थापनमा समयपालना र पारदर्शिता प्राथमिक आवश्यकता भएको बताउँदै सामुदायिक वनका सबै प्रतिनिधिहरूले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमले सामुदायिक वन व्यवस्थापनका लागि दीर्घकालीन योजना तयार पार्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु