मुकेश कुमार साह, रौतहट २४ पुस । चिसोको बढ्दो प्रभावका कारण बालबालिकामा स्वास्थ्य समस्या बढेको छ । जाडोको समयमा बालबालिकामा निमोनिया, ज्वरो, श्वासप्रश्वास समस्याहरू तीव्र रूपमा देखिन थालेका छन् ।
चन्द्रपुर ४ स्थित पब्लिक पोलिक क्लिनिकमा दैनिकी ४० देखि ४५ जनासम्म चिसोबाट प्रभावित बिरामी आउने गरेको सो क्लिनिकका सञ्चालक डाक्टर नसिर मोहम्मदले बताए ।
बालरोग विशेषज्ञ समेत रहेका डाक्टर मोहम्मदले यो मौसममा बालबालिकामा निमोनिया, ज्वरो, र श्वासप्रश्वासका समस्याहरू बढ्दै गएको बताएका छन् ।
डाक्टर मोहम्मदका अनुसार, चिसोका कारण बालबालिकाको प्रतिरोधात्मक क्षमता कमजोर हुन थालेको छ। “चिसोले विशेषगरी श्वासप्रश्वासमा असर गरिरहेको छ। बच्चाहरूलाई समयमै उपचार नगरिए स्वास्थ्य गम्भीर बन्न सक्छ,” उनले भने ।
पोलिक्लिनिकमा आउने बिरामीमध्ये अधिकांश ६ महिनादेखि १० वर्षभित्रका बालबालिकाहरू रहेको उनले जानकारी गराए । बालबालिकामा सामान्य ज्वरोका साथ निमोनियाका लक्षण देखिन थालेका छन् । केहीमा श्वास फेर्न गाह्रो हुने समस्या पनि देखिएको छ।
“चिसोको असरले श्वासप्रश्वासमा समस्या हुने बालबालिकाको संख्या बढिरहेको छ । यो समस्या जाडोको समयमा अधिक हुने भएकाले अभिभावकले सजग रहनुपर्छ,” डाक्टर मोहम्मदले भने ।
डाक्टर मोहम्मदका अनुसार, जाडोबाट बालबालिकालाई बचाउन घरभित्र न्यानो वातावरण सिर्जना गर्नु अत्यावश्यक छ । जाडो महिनामा स्वास्थ्यमा ध्यान दिन र सतर्क रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।