रौतहट, १७ असार । प्रहरीले गौर भन्सार नजिकबाट १ किलो ४०० ग्राम चाँदीका गरगहना सहित एक जनालाई पक्राउ गरेकाे छ ।
गौर नगरपालिका वडा नम्वर १ स्थित भन्सार सुरक्षा गार्डले भारतबाट नेपाल तर्फ आउदै गरेको अटो रिक्साहरुलाई नियमित चेकजाँचको क्रममा सोमवार दिउसो माधवनारायण नगरपालिका वडा नम्वर १ दपही घर भएका ४२ बर्षिय दिनेश प्रसाद साहलाई चाँदीको गरगहना सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।
पक्राउ परेका साहले सेतो कपडाको बेल्ट (पटी) कम्वरमा बाँधी लुकाई छिपाई ल्याउदै गरेको चाँदीको सिक्री ९ पिस, रिंग २ पिस र पाउजु ७ जोडा गरेर १ किलो ४०० ग्राम चाँदीको गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
एक लाख ९६ हजार मूल्य बराबरको चाँदी सहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको डिएसपी गिरीले जानकारी दिएकी छिन ।
।