रौतहट ३२ जेठ । ईशनाथ न.पा.-४ काली मन्दिर स्थित मुख्य सीमा स्तम्भ नं. ३४९ को नजिकै”सीमाबासीसंग सशस्त्र प्रहरी” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल-भारत अन्तराष्ट्रिय सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेड क्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको प्रमुख आतिथ्यता र ईशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवीको विशिष्ट आतिथ्यतामा सीमा सहजीकरण समितिका संयोजक तथा सदस्यहरु, सीमासँग जोडिएका ईशनाथ न.पा.-२ र ईशनाथ न.पा.-४ का वडा अध्यक्षहरु/संयोजकहरु, स्थानीय भद्रभलादमीहरु एवं सशस्त्र प्रहरी कर्मचारीहरु लगायत अन्दाजी १५० जनाको उपस्थिति रहेको थियो ।
“सीमाबासीसंग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सीमा सुरक्षाको महत्व, सीमा अपराध नियन्त्रण लगायत समसामयिक विषयहरुमा भएको अन्तरक्रिया कार्यक्रममा खेतीपातीको सिजन भएकोले बिउ बिजन तथा मलखाँदको ओसारपोसारमा भारतीय समकक्षी एसएसबि लगायत दुबै देशका सुरक्षा निकायद्धारा सहजीकरण हुनुपर्ने सम्बन्धमा, बर्षातको समय शुरु भईसकेकोले बर्षेनी हुने बाढी डुवान तथा धनजनको क्षतिबाट बच्न र बचाउन अपनाउनुपर्ने उपाय तथा भारतीय पक्षद्धारा निर्मित साईफनहरु बाढी तथा डुबानबाट क्षति हुनु अगाबै खोल्न पहल गर्ने सम्बन्धमा, सीमामा हुन सक्ने अवैध गतिबिधिको अनुगमन तथा निगरानी, सीमा स्तम्भको रेखदेख, पछिल्लो समयमा स्थानीय पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा सीमामा अबैध क्रियाकलाप भईरहेको भन्ने खालका प्रकाशित समाचारहरुको तथ्य तथा सत्यता सम्बन्धमा, सीमासँग पालिका जोडिएका स्थानीयबासीहरुले आफूले उत्पादन गरेका कृषि लगायतका अन्य सामाग्रीहरु जिल्लाभित्र एक स्थानबाट अर्को स्थानमा लैजादा विभिन्न किसिमका हैरानीहरु बेहोर्नु परेको भन्ने गुनासो लगाएत समस्याको समाधान हुनुपर्ने माग राखेको, सीमा नजिक रहेका मदिरा पसलहरु निश्चित समयावधिमा खोल्ने तथा बन्द गर्ने सम्बन्धमा, सीमा ईलाकामा आवतजावत गर्ने दुवै देशका जनतालाई अत्यावश्यक सार्बजनिक शौचालय निर्माणमा पहल गरिदिनुपर्ने, उक्त नाका भएर सीमामा वारपार हुने भारतीय सवारी साधनको व्यबस्थापन लगायतका विषयहरुमा छलफल गर्नुका साथै समसामयिक बिबिध बिषयमा उठेको प्रश्न तथा जिज्ञासाहरुमा रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले सम्बोधन गर्दै अन्तरक्रिया कार्यक्रम समापन भएको जानकारी दिइएको छ ।