रौतहट २० जेठ । ठगी गर्ने कार्यमा संकास्पद देखिएका दुई व्यक्तिहरु रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।
विगत केही महिना देखि यातायात व्यवस्था कार्यालय रौतहट, गौरको राजदेवी नगरपालिका वडा नं. २ स्थितमा रहेको ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयबाट संचालन गरी लिईदै आएको सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक) परिक्षामा सहभागी हुन आउने बिभिन्न व्यक्तिहरु लाई ट्रायल परिक्षामा पास गराई दिन्छौँ भनी रकम ठगि गरेको आरोपमा चितवन भरतपुर महानगरपालिका वडा नं. ३ घर भई भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा कान्तीपुर ड्राईभिङ स्कुल (सेन्टर) संचालन गरी बस्ने वर्ष ४५ को रमेश पाठक र गौर नगरपालिका वडा नं. १ वस्ने वर्ष ४८ को श्याम नारायण साह लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ट्रायल परिक्षामा सहभागी हुन आउने सेवाग्राहीहरुलाई बिश्वास दिलाई एकजना सेवाग्राहीबाट १० हजार देखि ३० हजार सम्म ठगी गर्दै आईरहेको भन्ने सूचनाको आधारमा यातायात व्यवस्था कार्यालय रौतहट, गौरबाट सवारी चालक अनुमती पत्रको लागी संचालन भई रहेको प्रयोगात्मक परिक्षा ट्रायल सेन्टर परिसरमा सेवाग्राहीहरुबाट रकम असुली गर्ने कार्यमा शंकास्पद देखिएका ले अनुसन्धान भईरहेको डिएसपी एलिजा गिरी ले जानकारी दिएकी छिन ।