सर्लाही ११ असार । जिल्ला अदालत सर्लाही ले तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनलाई बालयौन शोषण कसुरमा दोषी ठहर गरेको छ ।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जन लाइ दोषी ठहर गरेको हो ।
बम्जनको सजाय निर्धारणका लागि भने असार १७ मा पेसी तोकिएको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले बताएका छन ।
सर्लाही अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन महोत्तरी को जलेश्वरमा छन् ।
सोही मुद्दाका आरोपित जितबहादुर तामाङ र ज्ञानबहादुर बम्जनले भने सफाइ पाएका छन् । पीडितले २०७३ सालमा बम्जनको आश्रममा रहेको बेला बम्जनले बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।
२०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जनविरुद्ध पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो ।
अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबी गरेर मुद्दा दर्ता। गरेको थियो
बम्जन विरुद्ध सर्लाही जिल्ला अदालतले २०७७ असार २१ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
फरार सुचिमा रहेका बम्जन लाइ सीआईबी ले गत पुस २४ मा बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेर बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप पनि छ ।
बम्जन विरुद्ध पाँच परिवारले उजुरी दिएका छन । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता छ ।
बम्जन केही महिना बाराको रतनपुर र पछि बाराको हलखोरियास्थित जंगलमा बसेका थिए ।
पछि बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए ।
प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोक को इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा मारेको थियो ।