मुकेश कुमार साह,रौतहट २८ बैशाख । रौतहटको चन्द्रपुर-४ मा पहिलो पल्ट पर्खाल सहितको ढलान कार्य सुरु भएको छ । चन्द्रपुर-४ दुर्गा मन्दिर हुलाक टोलमा राउतको चिया पसल देखी रामखनालको घर सम्म पर्खाल सहितको ढलान कार्य सुरु भएको हो । ढलान मुनीको माटो नबगोस भन्ने हेतुले पर्खाल सहितको ढलान सुरु गरिएको उपभोक्ता समितीका अध्यक्ष रामचन्द्र शिवाकोटीले बताए । वर्षायाममा हिलो र सुख्खामा धुलो खेप्न बाध्य भएका सो सडकमा नमूना पिसिसि ढलान हुने भएपछीले गाउँले खुशी भएको स्थानीय राम राउतले बताए । उनले भने, ‘यो बाटो निकै खराब थियो, तर बाटो बनेपछि हामीलाई आवत जावत देखि सबैकुरामा सहज भएको छ, बाटोलाई १४ फिट चौडा गरिएको छ, वडाको योजनाले वर्षौदेखि अलपत्र सडक बन्न लागेको छ ।’
नगरपालिका तथा उपभोक्ताको संयुक्त लगानीमा ७ लाख ३ हजार ७ सय ६२ रुपैयाँ लागतमा निर्माण भईरहेको सो ढलान कार्य जेष्ठ ३० गते सम्म सम्पन्न गरि सक्नु पर्ने छ । उपभोक्ताको अग्रसरतामा नमुना बाटो बन्न लागेको र नगरपालिकालाई पनि सबैको स्वस्थ सहाभागिता तथा सहकार्य भए कुनै पनि विकास निर्माण कार्यमा वडा लगानी गर्न उत्साह बढेको र तत्पर रहेको चन्द्रपुर-४ का वडा सदस्य बिनोद सिटौलाले बताए । साढे ३ फिट पर्खाल लगाएर निर्माण भईरहेको ढलान कार्यको निर्माण समयमै र गुणस्तरीय रुपमा गर्न समिती एकबद्ध रहेको उपभोक्ता समितीका सचिव सन्तोष राउतले बताए । होर्डिङ बोर्ड राखेर नमुना रुपमा सुरु भएको पर्खाल सहितको ढलान कार्य चन्द्रपुरमा पहिलो पल्ट भएको उपभोक्ता समितीको दावी रहेको छ ।