रौतहट १५ जेठ । कम साक्षरता दर रहेको रौतहट जिल्लाका तीन सामुदायिक विद्यालय देशमै उत्कृष्ट भएका छन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको माध्यमिक शिक्षा परीक्षासम्बन्धी तथ्यांकमा रौतहटका तीन सामुदायिक विद्यालय उत्कृष्ट देखिएका हुन् ।
करिव एक सयभन्दा बढी विद्यार्थी सहभागी गराई तीस प्रतिशतभन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अंक (जिपिए) ३.२ वा सोभन्दा माथि प्राप्त गर्ने सामुदायिक विद्यालय देशभरमा १५ वटा रहेकामा रौतहटका तीन विद्यालय परेका छन् ।
देशभरमा मावि गरुडाले तेस्रो स्थान प्राप्त गरेको छ । १८८ विद्यार्थी एसइइमा समावेश गराएको गरुडा नगरपालिका ४ स्थित माध्यमिक विद्यालयले ६१.१४ प्रतिशत विद्यार्थीसहित देशमा तेस्रो स्थान प्राप्त गरेको हो ।
विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेलले विद्यालयमा शिक्षक विद्यार्थी अनुपात नमिलेको भए पनि शिक्षक विद्यार्थीको परिश्रमका साथै आफ्नो योजनाबद्ध शैक्षिक योजनालाई कार्यरुप दिँदा विद्यालयले शैक्षिक उपलब्धि हासिल गरेको बताएका छन् ।
यसै गरी ४४१ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै जुद्ध मावि गौर ५२.८३ प्रतिशत विद्यार्थीसहित देशमा पाँचौँ र २४८ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै सरस्वती मावि पिपरा भलोहिया ४७.९८ प्रतिशत विद्यार्थीसहित देशभरमा सातौँ स्थान छ ।