जनकपुर २० चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आमसञ्चार माध्यमको विकासका लागि कार्यायोजना बनाउने बताएका छन ।
जनकपुरधाममा सोमबार सञ्चारकर्मीसँग छलफल गर्दै मन्त्री लेखीले प्रदेश सरकार सञ्चारमाध्यम तथा सञ्चारकर्मीमैत्री नभएको गुनासो अन्त्य का लागी तत्काल कार्ययोजना बनाएर काम गर्ने बताएका छन ।
मन्त्री लेखीले भने, “म नेतृत्वमा आएपछि सञ्चारकर्मी र सञ्चारसम्बद्ध संस्थाबारे गम्भीर छु “/
मन्त्री लेखीले भनेका छन विभिन्न तहमा छलफल हुदैछ “सञ्चारजगत्लाई मर्यादित र सम्मानित बनाउन आजै देखि काम गर्छु ।”
मन्त्रालयका अधिकारीसँग बसेर कार्ययोजना बनाउने योजना रहेको र सल्लाह, सुझाव को अपेक्षा राखेको उनले बताए ।
मन्त्री लेखीले लोककल्याणकारी विज्ञापन, सञ्चारकर्मीको पेशागत तथा भौतिक सुरक्षाका लागि समन्वय, सूचनामा सहज पहुँचका लागि ‘सूचना डेस्क’ संचालन गर्ने बताए ।
प्रदेशमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नहुने गरेको गुनासो सञ्चारकर्मीहरूबाट आएकोमा यस विषयमा मुख्य मन्त्रीलाई आफूले ध्यानाकर्षण गराउने बताएका छन ।
मन्त्री लेखीले मधेश प्रदेशका पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि आवश्यक बिमा र पत्रपत्रिकाको लोक कल्याणकारी विज्ञापनको विषयमा आमसञ्चार प्राधिकरणका पदअधिकारीहरुसँग छलफल गरी आवश्यक रणनीति तय गर्ने बताएका छन ।
मन्त्री लेखीले मानव सूचकाङ्कको आधारमा मधेश प्रदेश धेरै पछाडि परेको भन्दै यसलाई सुधारका लागि प्रदेश सरकार, सबै राजनीतिक दल, नागरिक समाज र पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीले सङ्घीयता ल्याउन भएका आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका स्थानीय सञ्चारमाध्यमलाई प्रदेश सरकारले उपेक्षा गरेको गुनासो गरेका थिए ।
प्रदेश सरकारका निकायले सूचना लुकाउने, मन्त्रिपरिषद्कै निर्णय सार्वजनिक नगर्ने, मिडियालाई कमजोर बनाउने, स्थानीय मिडियालाई प्रवद्र्धन गर्ने ठोस् योजना नल्याउने र लोककल्याणकारी समानुपातिक विज्ञापनलाई व्यवस्थित बनाउनमा ध्यान नदिएकाले सञ्चारकर्मीले समस्या भोग्दै आएको गुनासो छ ।
नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले प्रदेश सरकार सञ्चारमाध्यम र सञ्चारकर्मीमैत्री नभएको बताएका छन।
विज्ञापन र स्रोतको अभावमा मिडिया हाउस बन्द हुने र पत्रकारहरू बेरोजगार बन्ने अवस्था आएको अध्यक्ष कर्णको भनाइ छ ।
उनले भने केही गम्भीर रोगसँग लड्दैछन् । केहीले उपचार अभावमा ज्यान गुमाइसके तर सरकारले समस्या समाधानको ठोस नीति लागू गरेको छैन ।
विगतमा स्वास्थ्य बीमा, पत्रकारको उपचारका लागि ५० हजार दिने घोषणा कार्यान्वयन नभएको उनको गुनासो छ ।
पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झा, पत्रकारहरू श्यामसुन्दर शशी, टीकाराम सुनार, धर्वेन्द्र झालगायतले प्रदेश सरकारलाई मिडियामैत्री बनाउन नयाँ भूमिकामा आएका मन्त्री लेखीले समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छन ।
कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र यादव, सह सचिव उत्तम प्रसाद खरेल, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास लगाएको सहभागीता रहेको थियो ।