रौतहट २३ माघ । कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ।
किसानले मिलमा लगेको १०० क्विन्टल उखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि किसानहरू आन्दोलित भएपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन्।
बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिका सञ्चालकको मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्।
आफ्नो मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले लुटपाट गरेको तिवारीको गुनासो छ। उनको छाती र टाउकोमा चोट लागेको छ ।
पत्रकार तिवारीलाई कुटपिट एवं संचार सामग्री खोस्ने बाबा बैजुनाथ सुगर मिलका कामदार सकलदेव ठाकुर लाई प्रहरीले नियन्त्रणमा लिएको र अन्यको खोजी भैरहेको प्रहरीले जनानकारी दिएको नेपाल पत्रकार महासघ रौतहटका सचिव मदन ठाकुर ले जानकारी दिएका छन ।
घाइते तिवारी र धिरज यादवको प्राथमिक उपचार गरुडा हेल्थल्याण्ड हस्पीटलमा भएको र थप उपचारको लागि विरगञ्ज पठाइएको छ ।
घटनामा संलग्न मिल सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहटका सचिव ठाकुरले बिज्ञप्ती निकालेर माग गरेका छन ।
समाजवादी प्रेस संगठन रौतहटले बिज्ञप्ती निकालेर दोषि माथी कडा कार्वाहीको माग गरेको छ ।