रौतहट १७ फागुन / दुधको पैसा नपाएपछि रौतहटका दूध किसानले पुर्व-पश्चिम राजमार्ग दुई घण्टा बन्द गरेर बिरोध गरेका छन् ।
डिडिसी र रौतहटका निजी डेरी लाई बिक्री गरेको दूधको पैसा करिब ९ करोड रुपैयाँ किसानले पाएका छैनन ।
रौतहटका दूध उत्पादक किसानले चन्द्रनिगाहपुर मुख्य सडक खण्डमा बिहान १० बजे देखि १२ बजेसम्म दुई घण्टा चक्काजाम गरेका हुन।
दूध किसानको करिव नौ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै केहिदिन देखी सडक आन्दोलनमा उत्रिएका छन ।
गत सोमवार जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको र बिहिवार राजमार्ग बन्द गरेर धर्ना दिएको दुग्ध उत्पादक सहकारी संघ रौतहटका अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीले बताएका छन ।
किसानले उत्पादन गरेको दुध विभिन्न सहकारी संस्थाहरु मार्फत संकलन गरि हेटौडा दुग्ध वितरण आयोजना र निजि दुग्ध व्यवसायीहरुलाई बिक्री वितरण गर्दै आईरहेकोमा विगत ६ महिना देखिको दुधको भुक्तानी रोक्ने, नेपाल सरकारले तोकेको मुल्य भन्दा कम मुल्य तोक्ने, नियमति रूपमा दुध खरिद नगर्ने किसानको गुनासो छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघले विभिन्न सरोकारवाला निकाय संग छलफल गरि केन्द्रिय दूध सहकारी संघ नेपालले दुग्ध उत्पादक किसाानले दुध विक्री गरे वापत पाउनुपर्ने रकम मुक्तानी लगायतका विषयमा नेपाल सरकार संग गत मंसिर २६ गते सम्झौता गरेको थियो ।
दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान हेटौडा , दुग्ध वितरण तथा अन्य निजि डेरी उद्योगीहरुले विगत ६ महिना अघि देखि रहेको ९ करोड भन्दा बढिको मुक्तानी बक्यौता यथाशिघ्र भुक्तानी हुनु पर्ने , आफुखुशी राखिएको मुल्य खारेज गरि नेपाल सरकारले तोकेको मुल्य कायम हुनुपर्ने, घोषित अघोषित मिल्क होलि डे रोकिनु पर्ने , भंन्सार विभागको तथ्यांक अनुसार २०८० साउन देखि पुस मसान्त सम्म एक अर्व ४३ करोड ८९ लाख २३ हजारको दुग्ध जन्य पदार्थ आयात देखिएकाले सो आयात पूर्ण बन्द गराउनु पर्ने र नेपाली दूध अन्तराष्ट्रिय बजारमा विक्री गर्ने व्यवस्था हुनु पर्ने , किसानलाइ सहुलियत कृषि कर्जा एवं अनुदान उपलब्ध गराउनु पर्ने, किसानको लागत मुल्य घटाउन सबै पालीकामा सबै किसानले पाउने गरि दुध लिटरमा अनुदान दिनु पर्ने, खोरेत लगायतका रोग मुक्त क्षेत्र घोषणा गर्नु पर्ने , भारतिय सिमा क्षेत्रबाट अवैध रुपमा दुध तथा दुग्ध जन्य पदार्थको तस्करी बन्द हुनु पर्ने, पशु आहार ,पराल आदीको ढुवानीमा ट्राफिक प्रहरीले दिने अनावश्यक दुःख दिने कार्यको अन्त्य हुनुपर्ने माग राख्दै आएका छन ।
दुध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीले पैसा नपाएपछि व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानलाई घर चलाउन नै समस्या भएपछि आन्दोलन गर्न बाध्य भएको बताएका छन ।