रौतहट,१६ माघ । फतुवा बिजयपुर १ घुसुकपुरका, युवा समाजसेवी मुकेश कुमार यादवले ३० हजार रुपैयाँ पर्ने एकथान ट्राईसाईकल गमहरिया टोलका पूर्ण अपाङ्ग नागेन्द्र यादवलाई सहयोग गरेका छन ।
अपाङ्ग भएका यादवको ढाडमा केहीवर्ष अघि बोन टिवि भएको थियो। उपचारको क्रममा दुईबर्ष अघि ट्रमा सेन्टर काठमाडौंमा ढाडको अपरेसन गर्दा ढाडको नसा काटिएर उनी अपाङ्ग भएका थिए।
५० बर्षीय पीडित यादव पूर्ण अपाङ्ग बनेर घरभित्रै बस्न बाध्य थिए ।
ट्राई साईकलको लागि पटकपटक वडा देखि नगरपालिकामा भन्दा कसैले नसुनेको उनले पीडा सुनाए । उनको उपचारको क्रममा जसपाका केन्द्रिय सदस्य यादवले पटकपटक सहयोग गर्दैआएको र उनकै सल्लाह अनुसार छोरा मुकेश यादवले ट्राई साईकल सहयोग गरेका हुन। अपाङ्ग यादवको ३ छोरा ३ छोरी छन् भने सम्पतीको नाउँमा ४ धुर घरेडी जग्गा रहेको छ।
उनी संग रहेको १० कठ्ठा जग्गा उपचारको क्रममा बिक्री गरिसकेका छन। हाल गाउँ घरमा अरूको खेतमा श्रीमती छोराहरूले ज्याला गरेर परिवार धान्दै आएका छन।
डेढ बर्ष देखि अपाङ्ग बनेका यादव ह्वील चेयर पाएपछि हर्षित हुँदै अबको जीवन सहज हुने भन्दै खुशी भएका छन ।