रौतहट २ माघ । कटहरिया नगरपालिकामा उपप्रमुख र केही जनप्रतिनिधिहरुले लगाएको ताला ९ दिनपछि खुलेको छ ।
मेयर अजयप्रकाश जैसवालले धर्नामा बसेका जनप्रतिनिधिहरु संग वार्ता गरेपछि मंगलवार ताला खोलिएको हो ।
वडा नम्बर ४ का अध्यक्ष चन्दनकुमार कुशवाहाले मेयरले आफूहरुले राखेको माग सम्बोधन गरेपछि ताला खोलेको बताएका छन ।
मेयर जैसवालले सबै वडाको विद्युत् महसुल तिर्ने, आर्थिक वर्षको खर्च कार्यपालिकामा पेस गर्ने, डोर लगायत करारमा कार्यरत कर्मचारीको विवरण दिने लगायतका माग सम्बोधन गर्ने प्रतिबद्धता गरेपछि सहमती भएको हो ।
उपप्रमुख रितादेवी यादवको नेतृत्वको जनप्रतिनिधिको टोलीले कुनै पनि शीर्षकमा खर्च गर्नुअघि खर्चको प्रस्तावमाथि कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने, नगरक्षेत्रअन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने वा नराख्ने बारे छलफल हुनुपर्नेलगायत विभिन्न ८ बुँदे माग राखी गत पुस २३ गते देखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।