रौतहट २ माघ । कटहरिया नगरपालिका मेयर अजयप्रकाश जैसवालले आफ्नै घरमा नगरपालिकाको हिउँदे अधिवेशन गरेका छन ।
मेयर जैसवालमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपमेयर नेतृत्वमा केही जनप्रतिनिधिहरु मंगलवार दिउँसो सम्म धर्नामा थिए ।
मेयर जैसवालले कटहरिया–९ डुमरियास्थित आफ्नो घरमै पूर्ण बहुमतका साथ हिउँदे अधिवेशन सम्पन्न भएको दावी गरेका छन्।
उपमेयर रितादेवी यादव, वडा नं २ का अध्यक्ष भूपेन्द्र कुशवाहा वडा नं ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं ५ का अध्यक्ष सर्फलाल गुप्ता, वडा नं ७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापति शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्ववडाध्यक्ष उमेश यादव, बाल्मिकी यादव, वडा प्रत्याशी हरेन्द्र यादवलगायत दर्जनौँ नेता कार्यकर्ताले ८ बुँदे माग राखेर नगरपालिकामा तालाबन्दी गरेका थिए ।
नगरपालिकाको कार्यालयमा लगाएको ताला मंगलवार दिउँसो सहमती पछि खुलेको छ । मेयर अजयप्रकाश जैसवालले गत आइतवार बहुमतसहित हिउँदे अधिवेशन सम्पन्न भएको दाबी गरेका छन्।
कटहरिया नगरपालिकाका ९ वटा वडामध्ये ५ जना वडाध्यक्ष, १९ कार्यपालिका सदस्यमध्ये १४ जना कार्यपालिका सदस्य र मेयरसहितको बहुमतबाट अधिवेशन सम्पन्न भएको दावी मेयर जैसवालले गरेका छन्।
अधिवेशनमा जनप्रतिनिधिका साथै प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंहलगायत नगरपालिकाका कर्मचारीको उपस्थिती रहेको बताईएको छ ।