प्रिमेश शिवाकोटी
रौतहट १७ पुस । रौतहटको उत्तरीपूर्वी भेगमा रहेको धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थल नुनथरमा अङ्ग्रेजी नयाँ बर्षमा आन्तरिक र बाहिरी पर्यटकको चहलपहल बढेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ रहेको नुनथर प्रदेश नम्बर २ कै चर्चित पर्यटक स्थलको रुपमा परिचित रहेको छ । नयाँ बर्ष मनाउन स्वदेश र छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट करिब २ लाख पर्यटकको भिड लागेको नुनथर क्षेत्र विकास समितिका सदस्य समिर कार्कीले जानकारी दिए ।
नयाँ बर्ष २०२४ मनाउन सो क्षेत्रमा पर्यटकहरुको व्यापक घुइचो छ । हिजोआज शनिबारको दिन पिकनिक खान र घुम्न रौतहट जिल्लाका मात्र नभएर छिमेकी जिल्ला बारा, पर्सा, मकवानपुर, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली जिल्लाहरुका मानिसहरु पनि आउने गरेका छन् । त्यसैगरी विभिन्न संघसंस्था प्रतिनिधी तथा विद्यालयका शिक्षक–विद्यार्थीहरु ठुलो संख्यामा पिकनिक खान आउने गरेका छन् ।
सो स्थानमा बिहे, ब्रतबन्ध लगायतका धार्मिक कार्यहरु गर्नेको संख्यामा पनि पछिल्लो समयमा वृद्धि भएको छ । महादेव पार्वतीको वासस्थान रहेको मानिदैँ आएको यस पवित्र धार्मिक स्थलमा आएर बिहे, ब्रतबन्ध तगायतका धार्मिक तथा शुभ कार्यहरु गरे राम्रो हुने जनविश्वास रहेको छ ।
धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाइवस्तुहरु यस क्षेत्रमा चर्न आउँदा बाग्मतिको पानी पिइसकेपछि यहाको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किवंदन्ती पनि रहेको छ ।
नुनथरमा वर्षको बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरेको पाइन्छ । त्यति मात्र नभएर सो नुनथर क्षेत्रमा साउनको सोमबार हिन्दु भक्तजनको घुँइचो समेत लाग्ने गर्छन् । को दर्शन गर्न आउने गरेका छन् । विशेषगरी यहाँ नयाँ वर्ष तथा जनवरी फस्टमा एवम कार्तिक, मंसिर तथा पुष महिनामा पिकनिक खानेहरुको भिडले बस्न समेत ठाउँ हुँदैन् ।
रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरि ४ वटा जिल्लासँग सिमाना जोडिएको यस नुनथरको बागमती नदीमा मोटरबोट चल्न सुरु गरेपछि यहाँ आउन पर्यटकको संख्यामा वृद्धि भएको छ । मोटरबोट संचालन भएपछि आन्तरिक तथा वाह्य पर्यटकहरु मोटरबोट चढेर बागमती नदिको सयर गर्न आउने गरेका छन् । सो मोटरबोट रौतहट र सर्लाही जोड्ने सो पुलमा फोटो खिच्न, वारपार गर्न, टिकटक बनाउन पर्यटकहरु रमाउने गरेका छन् । नुनथर क्षेत्र विकास समितिले सो क्षेत्रमा पर्यटनको विकासको लागि होमस्टे, चिल्ड्रेन पार्क लगायतका सुविधाहरु थप्न लागेको र यसलाई प्रदेशकै सबैभन्दा उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउने लक्ष्य लिएको नुनथर क्षेत्र विकास समितिका सदस्य समिर कार्कीले बताए ।