रौतहट १९ मंसिर । इलाका प्रशासन कार्यालय गरुडा रौतहटमा लामो समयदेखी कार्यालय प्रमुख नहुँदा कार्यालयको कामकाज प्रभावित हुँदै आएको छ ।
गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय गरुडाको कार्यालय प्रमुखको रुपमा शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा एक महिनादेखी सेवा प्रभावित हुँदै आएको सेवाग्राहीले गुनासो गरेका छन् ।
यसअघिका कार्यालय प्रमुख नायव सुब्बा रामस्वार्थ राय यादवको छ महिनाको समयावधि सकिएको र मन्त्रालयले अर्को कार्यालय प्रमुख नपठाउदा सेवाग्रही मर्कामा परेका छन ।
इलाका प्रशासन कार्यालय गरुडाको कामकाजका लागि मन्त्रालयले नायब सुब्बा यादवलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत कार्तिक १५ गते सकिएको थियो ।
विगत चार वर्षदेखि कार्यरत यादवलाई यसअघि मन्त्रालयले पटक पटक कामुको जिम्मेवारी दिदैआएको थियो । तर, यसपटक न नयाँ कर्मचारी खटाइएको छ, न यादवलाई नै कामुको जिम्मेवारी दिइएको छ ।
कार्यालय प्रमुखको व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्ने लगायतका सेवा प्रभावित भएको गुनासो छ ।
सेवाग्राहीको कामकाज प्रभावित नहोस भन्ने उद्देश्यले अर्को कार्यालय प्रमुखको व्यवस्था नहुन्जेलसम्मको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मणिभुषण साहलाई इलाका प्रशासन कार्यालय गरुडामा पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरले प्रशासकीय अधिकृत साहलाई इलाका प्रशासन कार्यालयमा कामकाज गर्न खटाएपनि दुई ठाउँको जिम्मेवारीमा रहेका प्रशासकीय अधिकृत साह नियमित इलाका प्रशासन कार्यालय गरुडामा बस्न नसक्दा सेवाग्राहीको काममा ढिलासुस्ती भइरहेको गुनासो छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्र कुमार मिश्रले इलाका प्रशासन कार्यालयको कायममुकायम शाखा अधिकृतको जिम्मेवारीको म्याद सकिएको विषयमा गृह मन्त्रालयलाई जानकारी गराई सकिएको र गृह मन्त्रालयले अब चाडै यहाँ नयाँ कार्यालय प्रमुख पठाउन लागेको बताएका छन।
बीस २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय गरुडा स्थापनाकालदेखि नै निमित्तको भरमा चल्दै आएको छ। अधिकृतस्तरको दरबन्दी भए पनि मन्त्रालयले अधिकृत पठाउन सकेको छैन।