रौतहट ९ पुस । यमुनामाई गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव आइतबार कडा सुरक्षा बिच हाजिर भएका छन् ।
हाजिर गर्न नदिने भन्दै स्थानीय ले गाउँपालिका प्रवेशद्वारमा जम्मा भएर बिरोध जनाएका थिए ।
स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले मंसिर २२ गते जिल्ला समन्वय समिति रौतहटका शाखा अधिकृत यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि विवाद बढेको थियो ।
गाउँपालिकामै कार्यरत कविराज सातौं तहका कर्मचारी राम श्रेष्ठलाई मन्त्रालयले मंसिर १३ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।
उनको जिम्मेवारी ८ दिन नबित्दै खोसेर मन्त्रालयले यादवलाई अधिकृत तोकेपछि विवाद बढेको थियो । यादवले पुस ३ गते उच्च अदालत वीरगन्जमा मुद्दा दिएका थिए । अदालतले उनलाई हाजिर गराउन अन्तरिम आदेश दिएको थियो ।
गाउँपालिकाका अध्यक्ष मोहम्मद साउदले कामकाज गराउन असमर्थ रहेकोले हाजिर गराउन नसक्ने भन्दै यादवलाई फिर्ता पठाएको संघीय मन्त्रालयलाई जानकारीपत्र पठाएका थिए ।
सो पालिकामा बितेको एक वर्षमा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।