रौतहट, ६ मंसिर । देवाही गोनाही नगरपालिकामा रहेको नगर अस्पताल आफै बिरामी बनेको छ ।
चुनावको समय भोट बटुल्न पूर्व तयारी बिना संघीय र प्रदेशको निर्वाचनको बेला तामझाम का साथ उद्धघाटन गरिएको थियो ।
सो अस्पताल उद्धघाटन २०७९ साल भदौ २५ गते भएको थियो । उद्घाटन भएको डेढ बर्ष बित्न लागेपनि अस्पतालमा दक्ष चिकित्सक, आधुनिक प्रयोगशाला, नेपाल सरकार बाट उपलव्ध हुने कुनै पनि ओषधी उपलव्ध छैन ।
नगर प्रमुख प्रेमलाल साह र उपमेयर परनीया देवी पटेलले अस्पतालको बिषयमा चासो नलिदा अस्पताल अलपत्र परेको जानकारहरुको गुनासो छ ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको पहलमा नगर बिकास कोषबाट संचालन गरेको नगर अस्पताल अहिले एक जना हेल्थअसिस्टेन्ट र कार्यालय सहयोगीको भरमा संचालन हुँदै आएको छ ।
एमबिबिएस सहित आठ जनाको दरवन्दी रहेको सो अस्पतालमा डाक्टरहरु , अन्य स्वास्थ्यकर्मीहरु नहुदा अलपत्र परेको छ ।
स्वास्थ्यकर्मीको अभावमा अस्पतालले स्वास्थ्य चौकी भन्दा पनि तल्लो स्तरको सेवा प्रवाह गर्दै आएको सेवाग्रही को गुनासो छ।
देवाही गोनाही नगरपालिकाले तत्कालको लागी वडा नं ८ प्रेमपुर गोनाही बजार मा भाडा दिएर अस्पताल संचालनमा ल्याएको थियो ।
गत वर्षको भदौ देखि संचालनमा रहेको नगर अस्पतालमा नाक, कान, घाटी, ओपिडी सेवा, प्रस्तुती गृह सेवा, एक्स-रे सेवा सँगै २४ घण्टे इमर्जेन्सी सेवा उपलब्ध हुने बताईएको थियो ।