रौतहट २४ असोज । राजपुर नगरपालिका वडा नम्बर ५ मा रहेको जनता नमुना माध्यमिक विद्यालय राजनीतिक दलको चपेटामा परेपछि पठन पाठन प्रभावित बन्दै गएको छ ।
शिक्षक सरुवाको विषय लिएर नेकपा एमालेका नेताको इशारामा विद्यालयमा तालाबन्दी गरिएपछि पढाइ प्रभाबित भएको हो ।
प्रधानाध्यापक विजयकान्त मिश्रको अवकाश भएपछि उदय प्रकाश जयसवाललाई प्रधानाध्यापकमा नियुक्त गरिएपछि विद्यालयमा तालाबन्दी भएको थियो ।
गत सोमबार अभिभावकले गरेको पत्रकार सम्मलेनमा राजनीतिक दलका कारण विद्यालयमा तालाबन्दी गरिएको बताएका थिए ।
अवकाश प्राप्त गरेका प्रधानाध्यापक विजय कान्त मिश्रको नातेदार पर्ने इन्द्रदेव मिश्रलाई प्रधानाध्यापक बनाउनुपर्ने माग राख्दै केही विद्यार्थीहरुले विद्यालयमा असोज ७ गते देखि तालाबन्दी गरेका हुन।
विद्यालयमा तालाबन्दी गरेपछि १६ सय विद्यार्थीको पठन पाठन प्रभावित भएको छ ।
पूर्व प्रअ मिश्र नेकपा एमालेका संघीय सांसद किरण साहको समर्थक रहेको बुझिएको छ ।
इन्द्रदेव मिश्र पूर्व प्रअको नातेदार भएकोले इन्द्रदेव मिश्रलाई नै विद्यालयको प्रअ बनाउनु पर्ने केही विद्यार्थीहरुको माग रहेको छ ।
पत्रकार सम्मलेनमा स्थानीय अभिभावक राजन साहले विद्यालय शान्तिपूर्ण क्षेत्र भएकोले बाधा अवरोध उत्पन्न गर्नु निन्दनीय भएको बताए ।
२०८० भदौ १४ गते विजय कान्त मिश्रले अनिवार्य अवकाश पाएपछि नगर शिक्षा समितिले विद्यालयमा कार्यरत रहेका शिक्षक उदय प्रकाश जायसवाललाई प्रधानाध्यापकको जिम्मेवारी दिएकाे थियो ।
स्थानीय रवीन्द्र साहले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक हस्तक्षेप राम्रो नहुने बताउँदै लगाइएको ताला बिना कुनै शर्त खोल्नुपर्ने धारणा राखेका छन ।
पूर्व प्रधानाध्यापक नागेन्द्र प्रसाद साह कानुले विद्यालयमा राजनीतिक हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
१६ सय विद्यार्थी भएको उक्त विद्यालयको अवस्था दयनिय रहेको छ । विद्यालयमा विषयगत शिक्षकको अभाव समेत रहेको प्रधानाध्यापक जायसवालले बताए ।
विद्यालयमा उच्च शिक्षामा १ जना, माविमा १ जना, निमाविमा १ जना, प्राविमा ५ जना, राहतमा ३ जना, बाल विकासमा १ जना, बाल विकास सहयोगीमा १ जना, नगर शिक्षक ३ जना कार्यरत रहेका छन् ।