रौतहट ३० असोज । मौलापुर नपामा निर्वाचन आयोगले, नेपाल दल त्याग तथा पद रिक्त भएको सुचना निकालेको छ ।
नेकपा एमाले बाट चुनाव जितेर , आम जनता पार्टीमा प्रवेश गरेपछि रौतहटको मौलापुर नपा कि मेयर रिना कुमारी साहको पद गएको छ ।
आयोगले सुचना निकालेर राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट बिस २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी-लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको जनाएको छ ।
सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०८०/०६/२९ गते निर्णय भएको सुचनामा उल्लेख छ ।
आम जनता पार्टी मा लागेको पुष्टि भएपछि मेयर साहको पद गएको हो । मेयर साह आजपाका केन्द्रीय अध्यक्ष प्रभु साहको श्रीमती हुन ।
गएको स्थानिय चुनावमा गठबन्धनलाई हराउँदै दोस्रो पटक मेयर पदमा नेकपा एमालेकी उम्मेद्वार रिना कुमारी साह विजयी भएकी थिइन। २०७४ सालको निर्वाचित मधेश प्रदेश कै एक मात्र मेयर रिना साह २०७९को चुनावमा पनि ५५ सय ६४ मत पाएर विजयी भएकी थिइन ।
मौलापुर नगरपालिकामा कुल मतदाता १४ हजार ७ सय ८४ रहेकोमा १२ हजार ७ सय ६० मत खसेको थियो ।
नगरपालिकाको ९ वडामध्ये वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा एकीकृत समाजवादीले जितेको छ भने अन्य सवै वडाहरुमा नेकपा एमालेले जितेको छ ।