रौतहट १ कार्तिक / गौरका एकजना ब्यक्तीको भारत को बिहार स्थित रामगढवामा गोली हानेर हत्या भएको छ ।
भारतको रक्सौल बाट करिव १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढ्वामा मंगलवार गौर नगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।
रामगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको काम गर्दै आएका सिंह लाई पैसा लुट्ने उदेश्यले गोली हानी हत्या गरिएको अनुमान प्रहरीको छ ।
भारतको मुजफ्फरपुरबाट मिलको रकम संकलन गरी फर्किरहेका सिंह लाइ मिल नजिकै अज्ञात समूहले गोली हानेका थिए ।
गोली सिंहको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको मृतकका नातेदार गौर नपा ९ का वडाध्यक्ष अर्जुन सिंहले बताएका छन।
उनको साथमा रहेको २९ लाख भारतीय रुपैयाँ लुटेरा समूहले लुटेर भागेका छन । लुटेरा समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो जीप प्रहरीले घटनास्थल बाट बरामद गरेको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
रौतहट का प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गर्दै मृतकको शव मंगलवार साँझ परिवारलाई जिम्मा लगाईएको र भारतीय प्रहरीले घटनाको अनुशन्धान गरिरहेको बताएका छन ।