रौतहट २० भदौ । रौतहटमा विभिन्न मुद्दाका करीव २ हजार अभियुक्त फरार छन ।
पछिल्लो पटक कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका एक अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका-१ बलरीखोरका ४६ वर्षीय ज्योतिकलाल राउत छन् ।
जिल्लामा लागूऔषध ओसारपसार, कर्तव्य ज्यान, सरकारी छाप दस्तखत किर्ते, हातहतियार खरखजना, मानव बेचबिखन, किर्ते नागरिकता, जबर्जस्ती करणी, अनियमितता, सवारी ज्यान, बम विस्फोट गराइ कर्तव्य ज्यान, खुन डाका, सरकारी कागजपत्र नष्ट गरेको, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधका पुराना मुद्दामा आरोप लागी २ हजार आरोपितहरु फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राउत २०६७ कात्तिक १७ को कर्तव्य ज्यान मुद्दा फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय भए पनि फरार रहेका हरुको नामावली लिएर खोजतलास भैरहेको डीएसपी उमाशंकर यादवले बताएका छन ।