रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएका छन् ।
राजपुर, इशनाथ, गरुडा, कटहरिया, चन्द्रपुर, बौधीमाई, वृन्दावन, गढीमाई, फतुवा विजयपुर, देवाही गोनाही, परोहा, राजदेवी, गौर, माधवनारायण नगरपालिका र दुर्गा भगवती तथा यमुनामाई गाउँपालिकाले भव्यताका साथ संविधान दिवस मनाएका छन ।
नेपाली काँग्रेस यमुनामाई गाउँपालिकाद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश साँसद नागेन्द्र साहले संविधानले दिएको मर्म र भावनालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए ।
प्रदेश साँसद साहले हरेक नागरिकको मनोभावनालाई बुझेर लागु भएको संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ लाई नागरिक स्तरबाट मनाउन समेत आग्रह गरेका छन ।
त्यसैगरी इशनाथ नगरपालिकाको नगरप्रमुख कोशिला देवी र प्रमुख प्रशासकीय अधिकृत भुदेव झा ले नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु ले सहिदको तस्वीरमा माल्यार्पण गरेर संविधान दिवस मनाएका छन ।
राजपुर नगरपालिकाको मेयर डा. राजिक आलम, उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर सहितका पदाधिकारीहरुले सहिदको तस्वीरमा माल्यार्पण गरी राजपुरमा रहेका अस्पतालका विरामीलाई फलफुल वितरण गरी शुभकामना आदानप्रदान गरेका छन ।
कटहरिया नगरपालिकाको नगरप्रमुख अजयप्रकाशले संविधान दिवसको अवसरमा झण्डोतोलन गर्नुका साथै लोकतन्त्रका लागि आहुती दिने ज्ञात अज्ञात सहिदलाई सम्झिदै सहिदको तस्वीरमा माल्यार्पण गरेका छन ।