रौतहट, २६ साउन । विपदको समयमा आफू र समुदायलाई कसरी जोगाउने भन्ने बिषयमा “विपद प्रतिकार्यका लागि सामुदायिक कार्य” चार दिने तालिम संचालन भईरहेका छन् । जनजागरण युवा क्लव (जेजेवाइसी) कलैया बाराको आयोजना र भेएसओको नेतृत्वमा, गौर नगरपालिकाको सहकार्य तथा युके एडको आर्थिक सहयोगमा “विपद प्रतिकार्यका लागि सामुदायिक कार्य” चार दिने तालिम गत मंगलवार देखि रौतहट सदरमुकाम गौर मा भैरहेको छ ।
समुदायमा क्षमता अभिवृद्धि गर्न, आगलागीको आपतकालिन अवस्थामा सामना गर्न क्षमता प्रदान गर्न, आधारभूत खोज र उद्धारलाई सक्षम बनाउन तथा आधारभूत पानी उद्धारको ज्ञान प्रदान गर्ने उद्देश्यका साथ “विपद प्रतिकार्यका लागि सामुदायिक कार्य” को तालिम भइरहेको कार्यक्रमका प्रमुख प्रशिक्षक सरोज अधिकारीले बताए ।
परियोजनाले परियोजना संचालित विद्यालयहरु र समुदायमा आइपर्ने विपद, प्रकोपहरुबाट हुने क्षति न्यूनीकरण गर्ने मानविय उद्देश्यबाट विद्यालयहरुमा गठन भएको विद्यालय स्तरिय विपदा व्यवस्थापन समितिको विभिन्न कार्यदलका सदस्यहरु, नगरप्रहरी, जिल्ला प्रहरी कार्यालय, प्रादेशिक अस्पताल, स्थानीय युवा क्लवका प्रतिनिधिहरु समेत गरी २४ जना चार दिने विपद प्रतिकार्यका लागि सामुदायिक कार्य तालिममा सहभागी रहेको कार्यक्रम संयोजक कौशलकिशोर साहले बताएका छन ।
रौतहट जिल्लाको गौर र गढीमाई नगरपालिकाको पाँच/पाँच विद्यालय तथा बारा जिल्लाको कलैया र जितपुर सिमरा उपमहागरपालिकाको पाँच/पाँच विद्यालयमा विपद प्रतिकार्यका लागि सामुदायिक कार्य कार्य दल गठन गरिएको साहले जानकारी दिए ।