रौतहट २१ साउन । राजमार्गमा जिप चालकसित घूस लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले एक चालक संग अवैध रकम लिएको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरेको हो ।निलम्बनमा पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार रहेका छन ।
जिप चालक रौतहटका सिकन्दर पटेलसित जवान यादवले हर्षाह र ट्राफिक कलवारले कर्मैयामा रोकेर एक/एक सय लुकाएर लिएको भिडियो सार्वजनिक भएको थियो ।
चालक पटेलले जरिवाना काटनुस् भन्दा पनि नमान्ने, र ‘गाडी रोकेर दुख दिनसम्म दिए पछि बाध्य भएर प्रमाणको लागि भिडियो बनाएको बताएका छन ।
रौतहटको हर्षाहा, गरुडा र सुकदेव चोकमा प्रहरीले रोकेर दुःख दिने र रकम माग्ने गरेको उनको गुनासो छ ।