रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको वडा नम्बर १ मा गरिब, विपन्न वर्गको परिवारलाई एक घर, एक ग्यास सिलिन्डर र चुलो बितरण गर्न लागेको हो ।
परोहा नगरपालिकाका सम्पूर्ण घरधुरीलाई वितरण गर्ने पालिका स्तरीय सर्वदलीय निर्णय गरिएको र अभियान अगाडि बढेको वडाअध्यक्ष शेख मोहमुद आलमले जानकारी दिए ।
परोहा नगरपालिका वडा नं १ जिगडवा बेलबिछवा टोलमा कोही नछुट्ने मुख्य उदेश्यले वडा स्तरीय भेला गरि सम्पूर्ण राजनीति दलसँग आबद्ध प्रतिनिधि, समाजसेवी र बुद्धिजीवीहरूको सल्लाह बमोजिम ग्यास सिलेण्डर ४ सय ८३ सेट पालिकाबाट माग गरि पहिलो प्राथमिकतामा गरिब, विपन्न, मजदुरी, अपाङ्ग, एक महिला अनि त्यसपछि बाकी व्यक्तिलाई एकद्वार प्रणालीबाट वितरण भईरहेको र छुटेका अन्य केही घरधुरीलाई पनि दिने वडाअध्यक्ष आलमले बताए ।
दाउरा,गुइठा, पराल लगायतले खाना पकाउँदा स्वास्थमा असर पर्ने र यस्तो आधुनिक युगमा समयको धेरै खाचो हुने ठहर सहित वडालाई धुवाँमुक्त बनाउने सोच पहिला देखि नै राखेको वडाअध्यक्ष आलमले बताए ।
परोहा नगरपालिकाको वडा नं १ मा बासोबास गर्ने सम्पूर्ण वडाबासीलाई ग्यास सिलेण्डर र चुलो वितरण गरेको तरुण दल रौतहट जिल्लाको सभापति मो. नौशाद आलमले बताए ।