Wednesday, January 22, 2025

भु माफियाले दर्ता गरेको मरधर सिमसारको जग्गा फिर्ता गर्ने प्रकृया शुरु

पछिल्लाे समाचार



रौतहट १६ जेठ । मरधर सिमसार भूमाफियाले व्यक्तिको नाममा दर्ता गराएको खुलेपछि उक्त जग्गा सिमसारको नाममा फिर्ता ल्याउन चन्द्रपुर नगरपालिकाले प्रकृया अघि बढाएको छ ।
नगरपालिकाले  मालपोत र नापी कार्यालयबाट माफियाले पेस गरेको सबै कागजपत्र संकलन गर्न थालेको छ ।
चन्द्रपुर नगरपालिका– ८ मा रहेको मरधर सिमसार क्षेत्रको एक सय बिगहा जमिन ब्यक्तिको नाममा दर्ता भएको थियो । ऐतिहासिक सिमसार करिव दुई सय वर्ष पुरानो रहेको अनुमान छ ।
भु माफियाले दर्ता गराएको सिमसार जग्गा दर्ता खारेज गरी फिर्ता ल्याउन प्रक्रिया अघि बढाइएको चन्द्रपुरका नगरप्रमुख सन्जय काफ्लेले बताए ।
दर्ता खारेजको लागि यसअघि मालपोत कार्यालयलाई पत्र  पठाइसकेकाे र  अब कानुनी रुपमै अघि बढ्न  कागज जुटाउने काम भइरहेको नगरप्रमुख काफ्लेको भनाई छ ।
मरधर सिमसार विकासका लागि प्रदेश सरकारले दिएको १ करोड ५० लाख रुपैयाँ खर्च गर्ने तयारीमा रहेको बेला भूमाफियाले आफ्नो नाममा पारेको नगरपालिकाले थाहा पाएपछि रहस्य खुलेको हो ।
नगरपालिकाले गत मसिर २० गते उक्त सिमसारको जग्गा सार्वजनिक ताल कसैले भोगचलन नगरेको हुनाले दर्ता खारेजीको प्रकृया अघि बढाइदिन भनेर मालपोत चन्द्रनिगाहपुरको नाममा पत्राचार गरेको छ ।
नगरपालिकाले सिमसार क्षेत्र क-कसको नाममा कित्ताकाट भएको हो त्यसको लगत लिने काम अघि बढाएको जनाएको छ ।
मालपोत कार्यालय चन्द्रपुरका अनुसार तत्कालीन वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगले नै कित्ताकाट गरी दर्ता गराइदिएको छ ।
तत्कालीन वन तथा वातावरणमन्त्री हेमबहादुर मल्लको कार्यकालमा मकवानपुरको धियाल बस्ती हटाएपछि उनीहरुलाई यहाँस्थित सिमसारको जग्गा पास गराएको खुलेको छ ।
आयोगले धियालको सट्टा भर्ना भन्दै सिमसार क्षेत्र नै व्यक्तिको नाममा पास गराएको हो ।
२०४६ जेठ १५ गतेको निर्णय अनुसार उनीहरुलाई सिमसार क्षेत्रको जग्गा कित्ताकाट गरी व्यक्तिको नाममा चलान पूर्जी दिएको पत्रमा उल्लेख छ ।
अधिकांशलाई १०/१० कठ्ठाका दरले जग्गा दिएको आयोगको पत्रमा उल्लेख छ ।
धियालबाट हटाइएकाहरुलाई गुजरा नगरपालिका (तत्कालीन रगंपुर गाविस) को नयाँ बस्तीमा जग्गा दिइएको थियो ।
वडानम्बर ८ का अध्यक्ष जितेन्द्र चौधरीले अहिले पनि सिमसारको जग्गाको राजस्व) तिर्न केही व्यक्तिहरु आउने गरेको सुनाए ।
मालपोत कार्यालयका नायबसुब्बा केशब भट्टराईले तत्कालीन आयोगबाट सिमसारको जग्गा ब्यक्तिको नाममा गरेको हुनाले अहिले दर्ता खारेज गर्न नमिल्ने बताए ।
पर्यटन मन्त्रालयले यसको संरक्षण र प्रवर्द्धनका लागि गत वर्ष विनियोजन गरेको ३५ लाख रकमले विश्रामघर, शौचालय, तारबार, लगायतको संरचना बनाइएको थियो । साथै सैनिक नागरिक सम्बन्ध, अभिवृद्धि तथा प्रकृति पर्यावरण र चुरे संरक्षण अभियान अन्तर्गत जिल्ला प्रशासन र चन्द्रपुर नगरपालिकाले केही समयअघि मरधर सिमसारमा भएको जलकुम्भी सरसफाइ गरेको थियो ।
नेपालमा ताल, नदी, जलाशय, धाप, कुण्ड, गरी ६ प्रकारका सिमसार छन् । सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रुपले स्थायी वा अस्थायी रुपमा पानीले र दलदलले ढाकेको पानी बग्ने दलदल, धाप, जरुवा रहेको क्षेत्रलाई बुझाउँछ ।
नेपालको राष्ट्रिय सिमसार नीति २०६९ अनुसार पानी जमेको वा बगेको, स्थायी, अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको सिमसार क्षेत्र हो । पाँच दशक अघिसम्म सिमसारमा विभिन्न प्रजातिका चराचुरुंगी आउँथे । विदेशबाट समेत जाडो छल्न साईबेरियन चराहरु आउँथे । पानीहास र लगाएतका चराहरु बास बस्थे । अहिले चराहरु ,पानीहांसहरु हराउन थालेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु