रौतहट १५ जेठ । गरुडा नगरपालिकामा रहेको श्री नमुना माध्यमिक विद्यालय गरुडाको प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आरडिसी नेपाल, सृजना रूपान्तरण समुह र गरुडा नगरपालिका शिक्षा शाखाको सहकार्यमा आयोजना गरिएको नगर स्तरीय “बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता ” मा विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता थियो ।
नगरका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको उक्त वक्तृत्वकलामा बाल विवाहको अन्त्य र सभ्य समाजको निर्माण शीर्षकमा उत्कृष्ट वक्तव्य वाचन गर्दै श्री नमुना माध्यमिक विद्यालय गरुडाका छात्र अधिराज कुमार यादव प्रथम भएका छन । श्री मा. वि श्रीपुर गम्हरियाकी छात्रा शाहजहां वेगम द्वितीय र श्री रामचन्द्र मा. वि जिंगडियाका छात्र राहुल साहले तृतीय स्थान हासिल गरेका छन ।
सृजना रूपान्तरण समुह गरुडा नगरपालिकाकी अध्यक्ष सृजना शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गरुडा नगरपालिकाकी नगर उप-प्रमुख पुनम कुमारी चौधरी, नगर शिक्षा सह-संयोजक शेख चान्द अली, आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन, कोषाध्यक्ष ममता झा, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनाल, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख फुलमाया गुरौँ, पालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक-शिक्षिका,विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।