रौतहट २४ चैत । देवाहीगोनाही नगरपालिकाका मेयर प्रेमलाल साह विरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।
साहको सट्टामा मान्छे राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर समेत रहेका परिक्षार्थी साह विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।
‘अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले बताएका छन ।
उपरिक्षक बुढामगरले भने ‘अहिले मेयर भन्दा पनि परिक्षार्थी भएकाले सोही बमोजिमको अनुसन्धान कार्य गर्दैछौं ।’
मेयर साहको सट्टामा एसईई दिंदै गरेको आरोपमा गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।
मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फका परीक्षार्थी मेयर साहले आफ्नो सट्टामा कमल साहलाई परीक्षा दिन लगाएको खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत कर्मचारी हुन् ।
पक्राउ परेका साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेकाे प्रहरीको भनाइ छ ।
मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएक छ ।
शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।
मेयर प्रेमलाल साहले बिज्ञप्ति निकालेर ,मेयरको नाममा नक्कली परीक्षार्थी पक्राउ शिर्षक राखी विभिन्न संचार माध्यम एवंम सामाजिक संजालमा प्रकाशित/प्रसारित समाचार /पोष्टहरु प्रति गम्भीर ध्यानाकार्षण भएको भन्दै मेयर साहले बिज्ञप्ती निकालेका थिए ।
उनले बिज्ञप्तीमा भनेका छन , २०७९ साल वैशाख ३० गतेमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देवाही गोनाही नगरपालिकाको प्रमुख (मेयर) पदमा निर्वाचित भई बिगत १० महिनादेखि नगरवासीको हितमा कार्य सम्पादन गरीरहेको जननिर्वाचित पदाधिकारीलाई अव उप्रान्त शैक्षिक योग्यताको प्रमाण पत्र आवश्यक नै नभएकोमा मैले माध्यमिक शिक्षा परिक्षा SEE को लागि परिक्षा फाराम नभरेको, परिक्षा फाराममा सहीक्षाप नगरेको अवस्थामा केहि व्यक्तिहरुले प्रपन्च गरी मेरो चरित्र हत्या गर्ने, झुठा मुद्दामा फसाई पदच्युत गराउने षडयन्त्र रची अवान्छित एवम अपत्यारिलो क्रियाकलाप गरे तर्फ मेरो कुनै संग्लानता नरहेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ ।