रौतहट, १३ वैशाख । आगो निभाउन गएको बारुण यन्त्र (दमकल ) दुघटना हुँदा गौरमा चालक सहित पाँच जना गम्भीर घाइते भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ४ गढवाटोलमा आगो लागेपछि निभाउन गएको बारुण यन्त्र गएराति साढे १२ बजेको समयमा दुर्घटना भएको हो । गौर नगरपालिकाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना भएको हो ।
सबगढा र गढवाको बिचमा रहेको कुखुरा फार्ममा आगो लागेको खबर पाएर बारुण यन्त्र सहित अग्निनियन्त्रण टोली जाने क्रममा ब्रेकफेल भइ दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा परेका घाइते बारुण यन्त्र चालक करिम अन्सारी, दमकल प्रहरीहरु प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाईते भएका छन ।
गम्भीर घाइते लाई जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि विरगंज पठाएर उपचार भइरहेको तथा सामान्य घाइते दमकल प्रहरी शिवशंकर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले मानविय सेवामा खटेको बारुण यन्त्र दुर्घटनामा परेर घाईते भएका कर्मचारीहरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने बताए ।