रौतहट ३ चैत । जिल्लामा ५ हजार हेक्टर क्षेत्रफलमा किसानले आँप खेती गरेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।
हाल मौसममा देखिएको अनुकुलता तथा बढी मात्रामा आँपको रुखमा मन्जरी लागेकाले यस वर्ष जिल्लामा आँप उत्पादन बढी हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ ।
चालु आर्थिक वर्ष यस जिल्लामा ५ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले ऑप खेती गरेकाले ७० हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ ।
जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८ / ०७९ मा ५ हजार ५०० हेक्टर क्षेत्रफलमा आँप खेति गरेकोमा ६५ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो ।
यस वर्ष सोचेको भन्दा बढी आँप उत्पादन हुने कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख कमलदेव प्रसाद कुशवाहाले जानकारी दिए ।
कटहरिया नगरपालिका, गरुडा नगरपालिका, गौर नगरपालिका, परोहा नगरपालिका र यमुनामाइ गाउँपालिका लगायत जिल्लाका अधिकांश ठाउँमा आँप उत्पादन हुने गरेको छ ।
रौतहटमा मालदह, बम्बइ, अमरपाली, दसहरि ,कलकतिया भदैया लगायतका आंप बढी फल्ने गरेको छ ।