चन्द्रपुर,३० फागुन । रौतहटको बनमा जंगली जनवरको चोरी सिकारी बढेको सरोकारवालाहरुको भनाइ छ ।
बन्यजन्तुको चोरी सिकारीमा पहुंचवाल देखी सर्बसाधारण सम्म रहेको जानकारहरु बताउछन ।
पछिल्लो समय रामलाल बृन्दावन साझेवारी वन क्षेत्रमा बंदेलको सिकार गर्न गएकाहरुले थापेको पासोमा बाघ परेर मरेको हल्ला व्यापक छ ।
डिभिजन वन कार्यालय दुई हप्ता देखी मृत बाघ गाडेको भनिएको बन क्षेत्रमा खोजी गरिरहेको छ ।
बृन्दावन नगरपालिकाको बलेरीमा स्थानीयले एउटा जंगली बंदेल पासोमा पारेर मारेका थिए ।
एक राजनैतिक दलका नेताकै संलग्नतामा जंगली बंदेललाई पासोमा पारेर मारिएको बताइएको छ । उक्त वन क्षेत्रमा पर्ने बलेरी देखी चाँदी खेला आसपासको जंगल छेउका गाँउमा बदेल आँउने भएका कारण पासो र टोटा बन्दुक सहित सिकारी सक्रिय भएको स्थानिय बताउछन ।
जंगलमा डडेलो लगाउने र रातीको समयमा जंगली जनावरहरु स्थानीयको मकै बाली खान आउने र त्यसैबेला सिकार गर्ने क्रम बढेको स्थानीयको भनाइ रहेको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले जंगलमा हुने अबैध चोरी सिकारी नियन्त्रण गर्न बनगस्ति बढाएको र सिकारी फेला परे कडाभन्दा कडा कार्वाही गर्ने बताए ।