मुकेश कुमार साह /
रौतहट २५,फाल्गुन । चन्द्रपुर मेयर गोल्डकप प्रतियोगिताको बिजेता टिमले नगद २ लाख पाउने छ भने उपबिजेताले एक लाख पाउने भएको छ ।
शनिवार शुरु हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी गराइएको थियो ।
रौतहट जिल्ला फुटवल संघले आयोजना गर्ने मेयरकपमा चन्द्रपुर नगरपालिकाको सहयोग तथा नेपाल खेलकुद क्लबको समन्वयमा प्रतियोगिता हुन लागेको हो ।
खेलमा मधेश प्रदेशका ८ जिल्लाका टिम सहभागी रहने छन् । फाल्गुन २७ गतेदेखि चैत्र ४ गतेसम्म खेल हुने र उक्त खेलमा प्रथम हुनेलाई नगद २ लाख र द्धितीय हुनेलाई एक लाखको व्यवस्था गरिएको छ ।
चन्द्रनिगाहपुरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल खेलकुद क्लवका महासचिव मधुसुदन धितालले प्रतियोगिताको तयारी पुरा भईसकेको जानकारी दिए ।
खेल चन्द्रपुर वडा नं. ४ स्थित तुलसीलाल अमात्य स्मृती रंगशाला हुने छ ।
यस प्रतियोगितामा प्रत्येक खेलाडीलाई हरेक दिन भता दिइने तथा यातयातको पनि सुविधा रहेको महासचिव धितालले जानकारी दिए ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार नगद तथा उत्कृष्ट खेलाडीलाई २५ हजार नगद दिईने आयोजकले जनाएको छ ।
खेल प्रतियोगितामा अनुमानित २१ लाख लाग्ने र अन्य स्रोतबाट ६ लाख र चन्द्रपुर नगरपालिकाबाट १५ लाख सहयोग उपलब्ध हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विगतका बर्षमा हुँदै आएको खेललाई यस बर्ष पनि निरन्तरता दिइएको उनको भनाई छ ।
लिग चरणको आधारमा हुने प्रतियोगिताको समुह क अन्तर्गत बिरगंज युनाईटेड पर्सा,गोल बजार स्पोर्ट्स कल्व सिरहा,बागमती युवा क्लव सर्लाही,धनुषा ११ धनुषा,खेल्ने छ भने समुह ख मा जनज्योति स्पोर्ट्स कल्व लालबन्दी, बेङखाडी युवा क्लव महोत्तरी,रौतहट ११ रौतहट, र नव जनजागृती युवा क्लब सिमराका टिम सहभागी हुने भएका छन् ।