रमेश कुमार यादब
रौतहट ३ चैत ।
रौतहट जिल्लाको गरुडामा एक दिने निशुल्क आँखा शिबिर सम्पन भएको छ ।
आरडिसिकोे सहयोगमा तथा गरुडा नगरपालिकाको आयोजनामा र नेपाल नेत्रज्योति संघ,गौर आखाँ अस्पतालको सहकार्यमा निशुल्क आँखा शिबिर सम्पन भएको छ ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको श्री मध्य बहुमुखी क्याम्पसमा नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र गौर तथा स्थानिय आयोजक गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको बिशेष पहलमा स्थानियहरुको आँखामा भएको समस्या गाउँघरमा नै निको गर्ने र हेरचाह गर्ने उदेश्यले शिबिरको आयोजना गरिएको थियो ।
कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले मानिसको पाँच वटा ज्ञानेन्द्रियहरु मध्ये आँखा एक अति सम्बेदनशिल बस्तु रहेको बताए ।
आँखाले नै संसार हेर्ने गरिन्छ तर सोहि आँखा खराब भएपछि संसार नै अँध्यारो जस्तो हुने समेत उनले बताए ।
आँखा परीक्षण गर्दा अरु बेला पूर्जी काट्नुपर्ने र लाइनमा बस्नुपर्ने जस्ता समस्याहरुलाई मध्यनजर गर्दै गरिब तथा विपन्न समुदायको लागि यस्ता शिविर सञ्चालन गरिएको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले बताए ।
मोतियाबिन्दु एवम अन्य आँखाका समस्या भएकाहरुको लागी आफ्नो ठाउँमा नै परिक्षण गर्ने उदेश्यले शिबिरको आयोजना गरेको नगर प्रमुख जैसवालले बताए ।
शुक्रबार आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिबिरको नगर प्रमुख जैसवालले उद्धघाटन गर्नु भएको थियो ।उद्धघाटन पश्चात उपस्थित भएका स्थानिय सेवाग्राहीहरुको आँखाको परिक्षण सुरु भएको थियो ।
एक दिने निशुल्क आँखा शिबिरमा २८१ जनाले निशुल्क आँखाको उपचार गराएका थिए ।२८१ जना मध्ये १२१ जना महिला र १६० जना पुरुषहरुले आखाँ परिक्षण गराएका थिए ।आँखा परीक्षण गरिएका मध्ये मोतिया विन्दु फेला परेका ८६ जनाको नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल पुरेनवामा निःशुल्क अप्रेशन गरिने नगर प्रमुख जैसवालले बताए ।