सर्लाही,१३ चैत्र। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कृषि मिटर वितरण भैरहेको छ ।
नेपाल विद्युत प्राधिकरण कार्यालय मंलगवा नगइकन गाउँपालिकाबाटै कृषि मिटर वितरण हुन थालेको छ ।
विद्युत चुहाबट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ।
विद्युत् मिटरका लागि किसानले मलंगवासम्म धाउँदा समय,र पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि उनीहरु हर्षित भएका छन।गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा किसानहरुलाई कृषि मिटर वितरण गरिरहेको छ ।
चन्द्रनगर गाउँपालिकाले पहिलो पटक् विद्युत चुहावट मुक्त गर्न अभियान थालेकोले विद्युत प्राधिकरणको कर्मचारीहरु गाउँपालिकामा नै आएर आवश्यक प्रकृया पुरा गरेर मिटर वितरण कार्य सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले जानकारी दिए ।
किसानले मिटर जडानको ३१ सय ५२ रुपैया भुक्तान गरेपछि बिधुत महशुल गांउपालिकाले तिर्ने सहमती भएको छ ।
कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेश गर्ने, फारम रुजु सिस्टमेट गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझने , मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बति प्रकाश गर्ने लगायत सबै चरणको काम गाउँपालिकामा भइसकेको हुदाँ अब प्राविधिकरणले किसानको खेत खेतमै पुगेर कृषि मिटर जडान गर्ने बिधुत कार्यालयका प्रमुख यादबले बताए ।
वडा नं. ५ का किसान रजाउल मंसुरले विद्युत प्राधिकरण धाउँदा धाउँदा एक वर्ष लाग्यो, कहिले यो मिलेन कहिले त्यो कागज मिलेन प्राधिकरणले भनेर फर्काउथ्यो तर अहिले भने गाउँपालिकामै किसानले कृषि मिटर पाउनु भनेको किसानको सौभाग्य भएको बताए ।
वडा नं. २ बस्ने किसान पुनित महतो ले पहिला आफुहरु सिँचाइको अन्य विकल्प नहुँदा डिजेलबाट चल्ने पम्पसेटबाट सिँचाइ गर्दा वर्षभरीमा १५ हजार खर्च हुने गरेको थियो ।
यसैगरी वडा नं. ३ बस्ने स्थानिय हरिनारायण महतोले गाउँपालिकामा दुई दिनमै मिटर लिन सफल भएको मा खुशी ब्यक्त गरे ।
चालू आर्थिक वर्ष ०७९/०८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गएको पुस २९ गते सम्पन्न १२औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको थियो ।
सोही अनुरुप विद्युत चुहावट अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो पटक कृषि मिटर गाउँपालिका बाटै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष राज कुमार महतोले बताए ।
३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् ।
कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष महतोले बताए ।
सिँचाइ क्षेत्र विस्तार हुँदा सहज सिँचाइ हुने, कृषि उत्पादन बढ्ने र किसानको लागतसमेत घट्ने भएकाले विद्युत् महसुल गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोको भनाइ छ ।