रौतहट, ५ चैत । हत्या गर्ने मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग गर्दै मौलापुर नगरपालिका सोनरनियाका पिडित पक्षले जिल्ला प्रहरी कार्यालय रौतहट घेराउ गरी प्रदर्शन गरेका छन ।
मौलापुर नगरपालिका वडा नम्वर ९ सोनरनिया गाउँका पनिलाल यादवको ४२ बर्षिया श्रीमती सुनैनाकुमारी यादवलाई छिमेकी भोला राय यादव, निजको श्रीमती कलावती देवी यादव र उमत राय यादवको श्रीमती मधानी देवी मिलेर गत फागुन २५ गते बाँसको भाटाले निर्घात कुटपीट गरेर हत्या गरेको मृतकका आफन्तको आरोप छ ।
हत्यामा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर फागुन २९ गते छाडेपछि आक्रोशित पिडित पक्षले रौतहट प्रहरी विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
खेतमा दिसा गरेको विषयलाई लिएर भएको सामान्य वादविवाद पछि भएको झगडामा एकपक्षिय रुपमा सुनैना माथि तीनै जनाले निर्घातकुटपीट गरेर हत्या गरेको प्रत्यक्षदर्शी स्थानीय महिला शारदा देवी यादवको आरोप छ ।
सुनैनालाई तीनै जना पिडकले बाँसको भाँटाले निर्घात कुटपिट गरेर अचेत बनाएर त्यहाँबाट फरार भएपछि अस्पतालमा ति महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
३ आरोपीलाई नियन्त्रणमा लिएर आर्थिक चलखेलको आधारमा फागुन २९ गते छाडेर घटनामा संलग्न मधानी देवीको ७२ बर्षिय श्रीमानलाई उमत राय यादवलाई मुख्य आरोपी बनाएर प्रहरीले हिरासतमा राखेपछि पिडितहरु प्रहरीको कार्यशैली विरुद्ध आक्रोशित बन्दै जिल्ला प्रहरी कार्यालय रौतहट घेराउ गर्दै प्रदर्शनमा उत्रिन बाध्य भएको स्थानीय रामप्रसाद साहको भनाइ छ ।
मृतक महिला सुनैनाको ४ छोरी र दुई छोरा सहित स्थानिय आन्दोलनमा छन।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर यादवले महिलाको हत्याको विषयमा गहन अनुसन्धान गरिरहेको हुँदा को दोषि, को निर्दोष हो अनुसन्धान पछि थाहा हुने बताए ।
प्रहरी माथि अनावश्यक रुपमा दिएर अनुसन्धानमा प्रभाव पार्न खोजिएको हुदा हामी बास्तविक दोषि पत्ता लगाई कानुनी दायरामा ल्याउने डिएसपी यादवले बताए ।