गरुडा ३ चैत । गरुडा नगरपालिकामा प्रक्रियालाई मिच्दै कर्मचारी भर्ना गरेर नगरपालिका लाई आर्थिक बोझ थुपारेको आरोप लागेको छ ।
लोसपाबाट मेयर प्रत्यासी बनेका युवा नेता दिपक यादवले आपत्ती प्रकट गरेका छन् ।
यादवको नेतृत्वमा सयौं स्थानीय बासिन्दाहरु गरुडा स्थित नगरपालिकाको कार्यपालिका कार्यालय बाहिर घेराबन्दी गरेर नगरपालिकामा कर्मचारी भर्ना सहित विभिन्न आर्थिक अनियमिततालाई ढाकछोप गर्ने मेयर सहित प्रमुख प्रशासकीय अधिकृत विरुद्ध नाराबाजी गरेर विरोध प्रदर्शन गरेका हुन् ।
मेयर कन्थमुणी प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले अनाधिकृति रुपमा प्रक्रिया मिचेर आफ्ना कार्यकर्ता भर्ती गर्दै पछिल्लो ६ महिनामा चरम आर्थिक अनियमितता गरेर नगरपालिका माथि चरम आर्थिक भार थुपारेको गम्भीर आरोप लगाए ।
हामीहरुले माग गरेको कागजातहरु किन सार्वजनिक गरेन ? किन दिन आनाकानी गरिरहेको छ ? के कारण छ ? सरकारी सम्पतीलाई दुरुपयोग गर्ने मेयर जयसवाल सहितका कर्मचारीलाई कारवाही हुने कि नहुने ? लगायतका मागहरु सहित नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।