रौतहट, २६ फागुन । आक्रमण पछि असुरक्षाको कारण देखाई तीन साता देखि विद्युत प्राधिकरणको मौलापुर वितरण केन्द्रमा कर्मचारी बसेका छैनन ।
रौतहटको मौलापुर नगरपालिका स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा कार्यरत स्थायी कर्मचारीहरुले असुरक्षाको कारण देखाई तीन साता देखि कार्यालय छाडेका हुन् ।
गत फागुन ५ गते वितरण केन्द्रका सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट र दुर्व्यवहार गर्नेमाथि प्रहरीले कारबाही नगरेको भन्दै स्थायी कर्मचारीहरुले कार्यालय छाडेका छन् ।
कर्मचारीहरु नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरमा हाजिर भएका छन ।
आम जनता पार्टीका नेता त्रिभुवन साह, धिरज पाण्डेसहितको व्यक्तिहरुले सहायक इन्जिनियर चौधरीलाई कार्यालय परिसरमा कुटपिट गरी अपहरण शैलीमा गाडीमा राखेर लगेको घटनामा नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको आकस्मिकबाहेकको सम्पूर्ण सेवा बन्द भएको हो ।
कर्मचारी नहुँदा अहिले विद्युत मिटर जडान, बक्यौता रकम संकलन, चुहावट नियन्त्रण जस्ता कार्य रोकिएपछि उपभोक्ता मर्कामा परेका छन ।
फागुन ५ गते मौलापुर नगरपालिकाद्धारा मौलापुर ५ पतौरामा आयोजित मधानी महोत्सवका लागि अवैध रुपले विद्युत लाइन जडान गर्न दवाव दिदै कर्मचारी माथी कुटपिट गरेको कर्पचारीहरुको गुनासो छ ।
नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले मौलापुरमा असुरक्षा महसुस गरेका सबै कर्मचारी प्रादेशिक कार्यालयमा हाजिर भएको बताए ।
सो बिषयमा बिधुत कर्मचारी र मौलापुर नपाको आआफ्नै अडान राख्दै आएका छन ।
वितरण केन्द्रका प्रमुख अरुणकुमार साहसहित २४ जना कर्मचारीहरु कार्यालय राखेर मेलामा पुरयाएको भन्दै उनीहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएपनि दर्ता र कारवाही नभएको भन्दै सबै कर्मचारीहरुले असुरक्षाको कारण देखाउँदै कार्यालय छाडेका हुन् ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मौलापुरका प्रमुख अरुण कुमार साहले फागुन ८ गते घटनामा संलग्न व्यक्तिहरु माथि मुलुकी उपराध संहिता २०७४ बमोजिम अपहरण सम्बन्धी कसूर गरेको हुँदा सजायको माँग गर्दै जिल्ला प्रहरी कार्यालय गौरमा किटानी जाहेरी दिएका थिए ।
प्रमाणका रुपमा घटना हुदा को सीसीटीभि फुटेज समेत प्रमुख साहले जिल्ला प्रहरी कार्यालयमा पेश गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर बुढा मगरले दिईएको जाहेरी घटना अनुसार आकर्षित नहुने देखिएकाले र चित्त बुझ्दो नभएकाले दर्ता नगरिएको बताउदै जिल्ला न्ययधिवक्ता संग छलफल भैरहेको बताएका छन ।