चन्द्रपुर,४ चैत । रौतहट जिल्लाको चन्द्रपुर ८ स्थित मरधर सिमसार क्षेत्रलाई भु माफियालले आफ्नो नाममा दर्ता गरेको तथ्य खुलेको छ ।
उनीहरुले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको समेत मिलेमतोमा १० कठाका दरले २० टुक्रा गरेका छन् । साबिक सन्तपुर गाबिसमा रहेको मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।
चन्द्रपुर ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले मरधर सिमसार माफियाको नामबाट नगरपालिकाको नाममा ल्याउनका लागि आफुहरुले पहल थालेको बताए ।
पहिले १० बिगाह भन्दा बढी जमिन अतिक्रमण भएको थियो । पछिल्लो समय सिमसारको पानी भएको क्षेत्र बिभिन्न २० जनाको नाममा नामसारी भएको पाइएको छ ।
पछिल्लो समय वडा कार्यालयमा सो जग्गाको मालपोत राजश्व बुझाउन मानिसहरु आउने गरेको भएपनि वडाले मालपोत राजश्व नबुझेको र सो जग्गा नगरपालिकाको नाममा ल्याउने पहल सुरु भएको वडा अध्यक्ष चौधरीको भनाइ छ ।