रौतहट १६ फागुन । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ डाबरी स्थित जी.पी. उद्यान पार्कमा बालबालिकाको लागि निर्माण गरिएको चिप्लेटी धराप थापे जस्तो भएको छ ।
सो चिप्लेटी निकै ठाडो तथा जमिन भन्दा करिब डेढ फिट माथि रहेकोले चिप्लेटी खेल्ने बालबालिकाहरु लडेर घाइते हुने गरेका छन् ।
करिब १० फिट अग्लो सो चिप्लेटीमा माथिबाट चिप्लेटी खेल्दै तल झर्ने बालबालिकाहरु भुँइमा बजारिने गरेका छन ।
चिप्लेटीको धारमा टाउको परेर काटिने, टाउको फुट्ने, हात, खुट्टामा चोट लाग्ने, भाँच्चिने जस्ता घटना दैनिकजसो घट्ने गरेको स्थानिय युवा जितेन्द्र साह बताउछन् ।
बालबालिकाको लागि निर्माण गरिएको संरचना बालमैत्री नहुँदा जोखिम बढेको उनको भनाइ छ ।
चिप्लेटीको भर्याङ्ग पनि साँघुरो, ठाडो रहेको छ भने खुट्किला पनि निकै सानो रहेको छ । बालबालिकाहरु भर्याङ्ग चढ्ने क्रममै लड्न सक्ने उच्च रहेको छ ।
चन्द्रपुर नगरपालिकाका सव इन्जिनियर अन्जनकुमार साह ले संरचनामा केहीँ कमि देखिएमा त्यसलाई सुधार गर्न सकिने बताए । उनले सो संरचनामा समस्या देखिएकाले त्यसलाई आवश्यक सुधार गर्ने बताए ।
यस विषयमा आफूलाई पनि गुनासो आएकाले सम्बन्धित पक्षलाई समाधानको लागि निर्देशन दिइसकेको वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसीले बताए । चन्द्रपुर नगरपालिकाले १७ लाखको लागतमा चिप्लेटीको निर्माण गरेको थियो ।