सप्तरी, ८ फागुन । सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दै आएका मनोहर पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित भएका छन ।
यसअघि २०७४ सालमा पूर्वाञ्चल र २०७५ सालमा मधेस प्रदेशबाट उत्कृष्ठ प्रतिनिधिबाट उत्कृष्ठ प्रतिनिधिका रुपमा पुरस्कृत हुनु भएका पोखरेलले यस वर्ष पनि उत्कृष्ठ प्रतिनिधि घोषित हुनु भएको इन्सेकले जनाएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को ३१औं अंकको आइतबार काठमाडौंमा विमोचन भएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिक भएको हो । आइतबार नै सबै प्रदेशको राजधानीमा समेत एउटै समयमा पुस्तक सार्वजनिकरण भएको छ ।
पोखरेल काम सुरुवात गरेकै वर्ष २०७० सालमा देशभरीकै सर्वोत्कृष्ठ प्रतिनिधिको पुरस्कारबाट पुरस्कृत बन्नु भएको थियो । २०७४ सालदेखि सर्वोत्कृष्ठ पुरस्स्कारको प्रावधान हटाएर इन्सेकले प्रदेश स्तरको उत्कृष्ठ पुरस्कारलाई मात्र निरन्तरता दिदै आएको छ ।
सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आएका पोखरेल चारपटक महिनाको उत्कृष्ट प्रतिनिधिबाट समेत पुरस्कृत भएका छन ।
२०७६ सालदेखि सुरु भएको महिनाको उत्कृष्ठ पुरस्कारमा चार पटक पुरस्कार प्राप्त गरिसक्नु भएका पोखरेल मानव अधिकारका समसामयिक विषय र आधारभूत तहका मानिसहरूको अधिकारका सवालमा कलम चलाउनुका साथै पीडितको न्याय प्राप्तिका लागि वकालत गर्दै आउनु भएको छ । पोखरेलले २०७६ असार, ०७७ असोज, ०७९ वैशाख र ०७९ पुस महिनाको उत्कृष्ठ प्रतिनिधिबाट समेत पुरस्कार प्राप्त गरेका छन ।
यो वर्ष प्रदेश १ बाट धनकुटाका इश्वर थापा, बागमती प्रदेशबाट दोलखाका उद्धवप्रसाद पोखरेल, गण्डकी प्रदेशबाट म्याग्दीका अमृतप्रसाद पौडेल, लुम्बिनी प्रदेशबाट रुपन्देहीका रिमा बीसी, कर्णाली प्रदेशबाट हुम्लाका नन्द सिंह र सुदूर पश्चिमबाट दार्चुलाका नरेन्द्रसिंह कार्की उत्कृष्ठ घोषित हुनु भएको छ ।
पुरस्कृत सबैलाई प्रशंसापत्रसहित नगद सात हजार र उपहारबाट आगामी दिन पुरस्कृत गरिने इन्सेकले जनाएको छ ।
काठमाडौँमा आयोजित कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । सन् १९९२ देखि हरेक वर्ष फागुन ७ गते पुस्तक प्रकाशन गरी विमोचन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा सो तथ्याङ्क समेटिएको हो ।
इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भए । सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।
सन् २०२२ मा राज्य पक्षाबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षाबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ पुरुष र तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसहित ६ हजार ७ सय ५४ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भयो ।
सार्वजनिक तथ्याङ्क अनुसार महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित देखिएको छ ।