रौतहट १६ फागुन । मौलापुर नगरपालिकाले आयोजना गरेको मधानी महायज्ञ तथा महोत्सव २०७९ को नाममा ६२ लाख रुपैयाँ खर्च गरेकाे छ ।
प्रचिन पतौरा महादेव मन्दिरको प्रचार प्रसार गराउने उद्देश्यले २०७६ साल देखि मौलापुर नगरपालिकाले आयोजना गर्दै आएकाे महोत्सवमा यसबर्ष ६२ लाख रकम खर्च गरेको छ ।
नगरपालिकाको खर्चमा भारतीय कलाकार दिनेशलाल यादव निरहुआ, अक्षरा सिंह, खेसारीलाल यादव, आम्रपाली दुबे र कहिले पवन सिंह काजलाई राघवानीलाई नचाएर मौलापुर नगरले लाखौ रकम खर्चिने गरेको छ ।
मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले यस वर्ष मधानी महोत्सवको लागि मंन्च तथा स्वागतद्वार निर्माण जगदीश साउण्ड तथा टेन्ट सेवा वीरगञ्ज ४ लाख, काश्मीरी टेन्ट हाउसलाई १० लाख, देशी विदेशी कलाकारहरूको पारिश्रमिक, यातायात होटल खर्च २५ लाख रुपैयाँ गरेका छन् । भारतीय भोजपुरी कलाकार पवन सिंहको टोली गायिका इन्दु सोनालीको टोली, अभिनेत्री काजल राघवानी गायिका एजिला रेग्मी निर्देशक, अर्जुन बीसीको टोली र स्थानीय कलाकार हरुको खर्च भन्दै २५ लाख उल्लेख गरिएको छ ।
मूर्ति निर्माणमा कालीगढको पारिश्रमिक, मूर्ति निर्माण सामग्री, मूर्तिको पोशाक, आभूषण, टहरा निर्माण समेतमा ५ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ ।
महोत्सवमा अतिथिको लागि खाना तथा बास व्यवस्थापन सुनीलद्वारा पतौरामा संचालित मेस ,मौलापुर, इच्छा होटल सिमरा, गौतम होटल चन्द्रनिगाहपुर ,कटहरियामा संचालित मेस तथा बासमा ३ लाख रकम खर्च गरिएको सार्वजानिक छ ।
अन्तर्राष्ट्रिय पहलवान देवा थापालगायत नेपाल तथा भारतका महिला तथा पुरुष पहलवानहरुको खेल प्रतियोगितामा २ लाख रुपैयाँ, सम्मान पत्र, कदर पत्र, प्रशंसा पत्र, स्वयं सेवक टोपी, मायाको चिनो, कार्ड होल्डर र डोरीसमेतमा ४ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
नेपाल टीभि, काष्टमण्डप टीभि सहितको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण, ड्रोन क्यमरा, क्रेन कैमराको भाड़ा, सामाजिक सञ्जालबाट बुस्ट, एफ एम तथा माइकिंग बाट प्रचार प्रसार गरे बापत २ लाख ५० हजार, खर्च देखाइएको छ ।
अतिथीको प्लेन टिकट ,माला ,गमछा ,अविर, मन्दिर परिसर सडक ,पोल तथा रुख रंग रोगनको खर्च ३ लाख र मन्दिर सजावट सरसफाइ, मधानी तथा शिव महिमा सम्बन्धी गीत, भिडिओ निर्माण सुरक्षा व्यवस्थापनमा ५ लाख गरी ६२ लाख रुपैयाँ खर्च भएको निमित्त प्रमुख प्रसाशकीय अधिकृत साहद्वारा जारी गरिएको खर्च विवरणमा उल्लेख छ ।
गएको फाल्गुन ५ गते देखि सुरूभएको मधानी महोत्सवमा सरकारी रकम खर्चेर भोजपुरी अश्लील गीत नृत्य प्रस्तुत भएको भन्दै रोक्का हुनुपर्ने माग गर्दै पूर्व सांसद दिल कुमारी साहले सर्वोच्च अदालतमा गरेको रिट निवेदन दिएकी छिन ।
नगरपालिकाले मधानी महोत्सवको नाममा अनावश्यक खर्च गरेको भन्दै बुद्धिजीविहरुले टिप्पणी समेत गरेका छन ।